संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट सुनिलबहादुर थापालाई उम्मेदवार बनाउँन सिफारिस गर्ने निर्णय गरेको छ । कांग्रेसको क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशन प्रतिनिधिसहितको आज बसेको संयुक्त बैठकले पार्टीका केन्द्रिय सदस्य थापालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि केन्द्रिय समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

नेता थापालाई सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गर्ने निर्णय भएको कांग्रेस जिल्ला सचिव बिजय सन्तोषी राईले संगालोखबरलाई जानकारी दिए । थापा कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्यसमेत हुन् । उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट उम्मेद्वार बनेका थिए । त्यसबेला एमाले उम्मेदवार राजेन्द्र राईसँग १० हजार ४ सय ५९ मतान्तरले थापा पराजित बनेका थिए । ३७ हजार ३ सय ३३ मतसहित राई बिजयी हुँदा थापाले २६ हजार ८ सय ७४ मत पाएका थिए ।

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलबहादुर आफ्नै बाबुले स्थापना गरेको पार्टी राप्रपा छोडेर २०७७ मा कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्दा उनलाई सह–महामन्त्रीको जिम्मेवारी दिइएको थियो । गत महाधिवेशनमा भने उनी सह–महामन्त्रीबाट तल झरेर केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका पाँच दलले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने केन्द्रीय स्तरमा निर्णय गरेका छन् । तर, गठबन्धनले सिट बाँडफाँड टुंग्याएको छैन । गठबन्धन हुँदा धनकुटाको टिकट कुन दलको भागमा पर्ने यकिन नहुँदै कांग्रेसले थापालाई उम्मेदवार बनाउँन सिफारिस गरेको हो ।

यता, गठबन्धन दलभित्रबाटै माओवादी नेता हेमराज भण्डारी र जसपा नेता रकम चेम्जोङ्ग पनि उम्मेद्वार बन्ने दौडमा छन् । तीनै जनाले गठबन्धनबाट साझा उम्मेद्वार बन्न ‘लविङ’ गरिरहेका छन् । धनकुटामा गठबन्धन बनेमा केन्द्रले सिट बाँडफाँड टुंग्याएपछि मात्र उम्मेदवारको टुंगो लाग्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!