- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । चौबिसे गाउँपालिका–१ मुढेबासको सरुगाउँस्थित मुढेबास माध्यमिक विद्यालय र छ नं.बुधबारे–१ स्थित शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । दुवै विद्यालयमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले रिबन काटेर विद्यालय भवन उद्घाटन गरेका हुन् ।

दुवै भवन उद्घाटन गर्दै सांसद राईले आफूले पहल गरेर विद्यालयमा नयाँ भवन निर्माण गर्न सफल भएको प्रति खुशी व्यक्त गरे । आफ्नो पहलमा धनकुटामा धेरै विकासका काम भएको उदाहरण दिदैँ सांसद राईले जिल्लाको विकासमा भूमिका खेल्न पाउँदा गर्व लाग्ने बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन शैक्षिक सुधारको खाँचो पनि औँल्याए ।

कार्यक्रममा बोल्दै शारदा माविका प्रधानाध्यापक बालकृष्ण रेग्मीले विद्यालय भवन कम भएका कारण पठनपाठनमा समस्या भइरहेको भएपनि नयाँ भवन बनेपछि अब पढाईमा सहजता मिलेको सुनाए । भवन निर्माणको योजना पारिदिएको भन्दै प्रधानाध्यापक रेग्मीले सांसद राईलाई धन्यवाद पनि दिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको बजेटबाट मुढेबास माविमा ४० लाख ४६ हजारको लागतमा दुई तले चार कोठे भवन र शारदा माविमा ७० लाख १५ हजार रुपैयाँको लागतमा दुई तले चार कोठे भवन निर्माण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!