- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

मोरङ । मोरङको सुन्दरहरैंचाका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट सुन्दरहरैंचाको कुमारगाउँमा बसाइ सरेका बुढाथोकीले बाख्रापालनबाट वार्षिक १५ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

१२ कक्षासम्म अध्ययन गरेका बुढाथोकीले पाँच वर्ष अघिदेखि कृषि फार्म सञ्चालन गर्दै आएका छन् । बाख्रापालनबाट वर्षमा १५ लाख आम्दानी गर्न सफल भएको बुढाथोकी बताउँछन् । चार वटा बाख्राबाट व्यवसाय सुरु गरेका बुढाथोकीको फार्ममा अहिले उन्नत जातका बोयर, जमुनावारी र लोकल जातका ७० खसीबाख्रा छन् ।

Advertisement

उनले अहिले जिल्लामा सफल कृषकको पहिचान बनाइसकेका छन् । उनको व्यवसायमा बुवा खगेन्द्रले पनि साथ दिएका छन् । केही व्यक्तिलाई रोजगारी पनि दिएका छन् । उनको कर्मले गाउँमा अरूलाई पनि हौसला मिलेको छ । उनले चार बिघा जमिनमा खेतीपाती गर्दै खसी बाख्रा र गाई भैँसीका लागि घाँस परालको जोहो पनि गर्दै आएका छन् । बाख्रापालनबाट उनलाई घरपरिवारको खर्च धान्न र छोराछोरीलाई पढाउँन निकै सहज भएको छ ।

बाख्रापालनबाट सन्तुष्ट भएपनि कृषि पेसाका लागि सरकारी स्तरबाट सहयोग नपाएको उनको गुनासो छ । सरकारी स्तरबाट अनुदान उपलब्ध गराएर युवा जनशक्तिलाई कृषि पेशामा लाग्न हौसला दिनुपर्ने उनको भनाई छ । सुन्दरहरैंचाको उत्तरतर्फ चारकोसे झाडी भएकाले त्यहाँ बाख्रापालन गर्न कृषकलाई सहज छ । सुन्दरहरैँचामा अहिलेसम्म ९८ वटा बाख्रा फार्म दर्ता भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!