ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ अगस्ट २४ नेपाल सम्बत ११४२ गुंलागा द्धादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष द्धादशी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वस्ु नक्षत्र, व्यतिपात योग, तैतील करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६:३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कनु पर्दा आजका लागि शुभ समय बिहान ५ बजेर ३८ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ । आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ, तपाईंभित्रको आन्तरिक ऊर्जा र साहसी मनोवृत्तिले सकारात्मक परिणाम प्रदान गर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पुरानो समस्या वा कारबाहीप्रति ध्यान केन्द्रित हुनसक्छ । कुनै नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा सबै समस्या हल गर्न सकिने छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय हो, तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुने परिस्थिति पनि बनेको छ । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भौतिक सुख र प्रतिष्ठाबृद्धिको चिन्ताले सताउने समय छ । चाहेको उपलब्धि प्राप्त हुनेछ, तर पनि महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । दौडधूप गर्नुपर्ने काम, ढुवानीरयातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सेवाग्राही र सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुन्छ । लक्ष्य र योजनाप्रति विश्वास र उत्साह जाग्ने दिन हो, प्रतिष्ठित वा लोकप्रिय व्यक्तित्वसँग भेटघाट हुने वा उनको जीवनबाट प्रेरित भएर काम गर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढ्नु ठीक हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन । अहङ्कार, अडान र आडम्बर कमजोरी बन्नसक्छन्, त्यसैले तिनलाई त्यागेर आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । कार्यालयमा स्टाफहरूका माझमा समन्वयको कमी छ भने बरु वैठक राखेर सुलह गर्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने र प्रशासनिक समस्या उत्पन्न हुने खतरा छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । कलात्मक विषयवस्तुमा आकर्षण बढ्नेछ । आफैं पनि गीतसङ्गीत, चित्तकला, फोटोग्राफी वा कुनै कलाप्रति झुकाव राख्नुहुन्छ भने राम्रो गर्ने समय हो । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग गरी थप आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै कुराले गर्दा मनमा दोधारेपन हुनसक्छ, त्यस्तै पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति तपाईंलाई चित्त नबुझ्न सक्छ । आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । सम्झौता वा करार गर्न अनुकूल समय छ, दैनिक कामबाट समेत फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । तर घरिघरि मन रुमल्लिन सक्छ, कल्पना र भावना सलबलाउने दिन हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!