- संगालोखबर सम्वाददाता
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटामा आगामी असोजमा दशैँ तिहार फुट फेस्टिभल तथा मेला आयोजना गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले असोज ७ देखि २१ गतेसम्म टुँडिखेलमा मेला आयोजना गर्ने भएको हो ।

महासङ्घको आज बसेको बैठकले मेला आयोजना गर्ने निर्णय गरेको अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दशैँ तिहारका लागि सस्तो मूल्यमा दैनिक उपभोग्य सामाग्री तथा लत्ताकपडा बिक्री वितरण गर्न र विभिन्न खानेकुराका परिकारको स्वाद चखाउन मेला आयोजना गर्न लागिएको हो ।

Advertisement

मेलाका लागि महासङ्घका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै बिभिन्न उपसमितिहरू पनि निर्माण गरिएको छ ।

निर्वतमान अध्यक्ष विजय सन्तोषी राईको संयोजकत्वमा मेला व्यवस्थापन समिति, उपाध्यक्ष कुसुम रानाको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, उपाध्यक्ष मनकला लिम्बुको संयोजकत्वमा अनुगमन समिति, महासचिव अम्विका धमलाको संयोजकत्वमा मञ्च तथा कार्यक्रम व्यवस्थापन समिति, सचिव रुपेश श्रेष्ठ संयोजकत्वमा  स्वयंसेवक परिचालन समिति र कोषाध्यक्ष हरीवहादुर लम्जेलको संयोजकत्वमा प्रचारप्रसार तथा आर्थिक समिति गठन गरिएको छ ।

दुई हप्तासम्म सञ्चालन हुने मेलामा लत्ता कपडा, दैनिक उपभोग्य सामग्री, जातीय खानेकुराका परिकार लगायतका करिब ५० वटा स्टल राखिने छ । राई, लिम्बू, नेवार, मगर, तामाङ, आठपहरिया, ब्राम्हण, क्षेत्री, शेर्पा, भुजेल लगायत जातका जातीय खानेकुराका परिकार र नेपाली खानाका विभिन्न परिकारहरूको स्टल रहनेछ । बालबालिकाहरूका लागि बाल उद्यान पनि राखिनेछ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुती पनि रहने मेला व्यवस्थापन समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिए ।

धनकुटा सदरमुकाममा पहिलो पटक हुन लागेको यो मेलामा करिब पाँच करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!