- संगालोखबर सम्वाददाता

झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले प्रदेश सभाको यो कार्यकालमा १ नम्बर प्रदेशको नामकरण सम्भव नभएको बताएका छन् । दमकमा आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता कार्कीले प्रदेश सरकारले चासो नदेखाएकाले प्रदेशको नामकरणको सम्भावना टर्दै गएको बताएका हुन् ।

मुख्यमन्त्री राजेन्द्र राईको अभिव्यक्तिका कारणले पनि प्रदेशको नामकरणमा सहमतिको सम्भावना पर धकेलिएको उनले बताए । मुख्यमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार तरिकाले आएपछि तत्कालै सहमतिको सम्भावना कम देखियो,’ नेता कार्कीले भने, ‘प्रदेश सरकारले यो विषयलाई हल्का ढंगले लिएका कारण पनि समस्या भयो ।’

प्रदेश १ का पूर्वमन्त्रीसमेत रहेका कार्की एमालेले नामकरणका लागि बनाएको कार्यदलका संयोजक पनि हुन् । उनले दलीय हैसियत अनुसार दलले र सांसद भएका हिसाबले आफू पनि नामकरण गर्न नसकेको विषयमा नैतिक जिम्मेवार रहेको धारणा राखे । कार्कीले अहिले नै प्रदेश संरचनाको विषयमा समीक्षा गरिहाल्ने बेला नभएको टिप्पणी गरे । ‘गठबन्धनका नाममा भाग पुर्याउन मन्त्रालय फुटाउनु, सचिवालयका नाममा खर्च बढाउँनु जस्ता कारणले प्रदेशको विषयमा टिकाटिप्पणी भएको देखियो,’ उनले भने, ‘तर अहिले तत्कालै संरचनाको विषयलाई लिएर समीक्षा गरिहाल्ने बेला भएको छैन ।’

उनले नेकपा एमालेको नेतृत्वमा बनेको यसअघिको प्रदेश सरकारले साढे ३ वर्षको अवधिमा ६२ वटा रणनीतिक सडक निर्माण गरेको दाबी गरे । उनले बोर्डर आउट पोष्ट (विओपी) को संख्यासमेत बढाएर सिमा सुरक्षालाई प्राथमिकता दिइएको जिकिर गरे । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले असोज पहिलो सातासम्ममा उम्मेद्वार टुंगो लगाइसक्ने भन्दै उनले गठबन्धनसँग भिडेर एमाले एक्लैले ४० प्रतिशत मत ल्याउने दावी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!