संगालोखबर सम्वाददाता

विराटनगर । लायन्स क्लब अफ विराटनगर एलिटले विराटनगर–१ परोपकार घाट नजिक रहेको सयपत्री परोपकार आधारभूत विद्यालयमा पक्की शौचालय बनाइदिएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्राहरूको सहजताका लागि लायन्स क्लबले करिब डेढ लाख खर्चिएर दुई कोठे पक्की शौचालय बनाइदिएको हो ।

Advertisement

सिसुदेखि कक्षा ४ सम्म पढाई हुने सो विद्यालयमा करिब ७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा छात्र र छात्राका लागि एउटै शौचालय थियो । बेग्लाबेग्लै शौचालय नहुँदा छात्रछात्रालाई समस्या भइरहेको थाहा पाएपछि दुई कोठे शौचालय निर्माण गरिदिएको लायन्स क्लब अफ विराटनगर एलिटका अध्यक्ष प्रा.डा.शान्ति सुवेदीले जानकारी दिइन् ।

‘यो स्कुलमा सामान्य खालको एउटा मात्र शौचालय रहेछ, त्यसैले बालबालिकाहरूलाई अलिक अफ्ठेरो भएको थाहा पाएर हामीले दुई कोठे व्यवस्थित पक्की शौचालय बनाइदिएका छौं,’ अध्यक्ष प्रा.डा.सुवेदीले भनिन्, ‘यो विद्यालयलाई हामीले यसअघि पनि बेलाबेला सहयोग गरिरहेका छौं, आगामी दिनमा पनि सकेको सहयोग गर्ने हाम्रो योजना छ ।’

पक्की शौचालय निर्माण भएपछि विद्यार्थीहरूलाई सजिलो भएको विद्यालयकी प्रधानाध्यापक सीता दाहालले बताइन् । लायन्स क्लब एलिटका अध्यक्ष प्रा.डा.सुवेदीको अगुवाइमा क्लबमा आवद्ध सदस्यहरूबाटै रकम संकलन गरेर शौचालय बनाइएको हो । विभिन्न सामाजिक काम गर्दै आएको सो क्लबले यसअघि सो विद्यालयका छात्रछात्राहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!