संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमालेसँग एक्ला एक्लै भिड्न नसक्ने भएपछि कांग्रेस, माओवादी लगायत दलले चुनावका लागि गठबन्धन गरेको टिप्पणी गरेका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनकुटा आएका नेता ढकालले बुधबार प्रेस चौतारी धनकुटाले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

Advertisement

पाँच दलले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन कायम राख्ने घोषणा गरेको प्रसङ्गमा ढकालले यो गठबन्धनले एमालेलाई केही फरक नपर्ने दावी गरे । ‘एमालेसँग सिंगल सिंगल प्रतिष्पर्धा गर्न सक्ने सामर्थ कसैको नभएकाले सबैको सहारा खोजेर, एकले अर्कोको बैशाखी टेकेर एमालेसँग चुनाव भिड्न आएका हुन्,’ नेता ढकालले भने, ‘एमाले एक्लै चुनाव भिड्न सक्षम छ । यो गठबन्धनले हामीलाई केही फरक पार्दैन ।’

पाँच दल एकातिर हुँदा एमाले एक्लैले कसरी सामना गर्न सक्ला भन्ने जनतामा यसअघि आशंका उत्पन्न भएपनि स्थानीय तह निर्वाचनको मत परिणामले एमालेको शक्तिलाई प्रदर्शन गरेको उनले बताए । सबै दल एकातिर हुँदा पनि एमाले एक्लै चुनाव भिडेर स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नुले एमालेको पक्षको जनलहरलाई पुष्टि गरेको उनको तर्क छ । ‘स्थानीय तह निर्वाचनमा एमाले सिटका आधारमा दोस्रो भएपनि पपुलर मतका आधारमा पहिलो पार्टी भएको छ, ०७४ को निर्वाचनमा हामीले ३३ प्रतिशत मत ल्याएका थियौं, यो पटक गठबन्धनसँग एक्लै भिड्दा पनि अझै एक प्रतिशत बढाएर ३४ प्रतिशत मत ल्याएका छौं,’ नेता ढकालले भने, ‘स्थानीय निर्वाचनको नतिजाले पनि प्रदेश र संघको चुनावमा एमालेले पाँच दललाई सजिलै परास्त गर्न सक्छ भन्ने संकेत दिइसकेको छ ।’

पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पुर्व मुख्यमन्त्री शेरधन राईले अहिलेका मुख्यमन्त्री राजेन्द्र राईका कारणले प्रदेशको नामकरणमा अन्योलका छाएको आरोप लगाए । मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका निर्वाह नगरी अड्को थाप्दा प्रदेश नम्बर १ को नामाकरण हुन नसकेको उनको आरोप छ । पहिले आफु मुख्यमन्त्री भएका बेला नेकपाभित्र पनि दुई पार्टीपक्षधरको फरक फरक मत भएकाले नामकरणमा समस्या सृजना भएको उनले बताए । अहिले नामकरणका लागि कोशी, सप्तकोशी, सगरमाथा, किरात लगायत जुनसुकै नामको विषयमा पनि छलफल गर्न एमाले तयार रहेको उनको भनाई छ ।

प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य हिकमत कार्की, केन्द्रिय सदस्यहरु राजेन्द्र राई, शकुन्तला वस्नेत, विनादेवी राई, प्रदेश अध्यक्ष तुलसी न्यौपाने, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली लगायत नेताहरु पनि सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!