- रबिन कटेल/संगालोखबर

विराटनगर । मोरङको सलकपुरस्थित सव डिभिजन वन कार्यालयमा कार्यरत सशस्त्र बन रक्षक सिपाही प्रेम विष्टले बन मास्नेहरूसँग घुस लिन नमान्दा आफूलाई सरुवा गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । विराटनगर–१२ घर भएका ५१ बर्षीय बिष्टले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।

Advertisement

सुन्दरहरैंचा नगरपालिका–८ स्थित सलकपुर सामुदायिक बनमा उपभोक्ता समितिले कटान आदेश भन्दा बढी काठ काटेपछि आफूले खबरदारी गर्दा समितिका पदाधिकारीले सशस्त्र बन रक्षक कमान्डरमार्फत आफूलाई घुसको प्रस्ताव पठाएको उनको आरोप छ । ४० हजार पैसा दिने भनेर सशस्त्र बन रक्षक कमान्डर कुमार बस्नेतले प्रस्ताव ल्याएको भएपनि पैसा लिन नमान्दा आफूलाई सरुवा गरेर सर्लाही पठाइएको विष्टले आरोप लगाए ।

बिष्टका अनुसार ०७८ बैशाख २२ गते शव डिभिजन कार्यालयले सलकपुर सामुदायिक बन उपभोक्ता समितिलाई सुकेको, ढलेको रुखको ३ हजार ६ सय ६९ दशमलव ५६ क्यूफिट काठ र ६ दशमलव ६० चट्टा दाउरा कटानका लागि अनुमति दिएको थियो । अनुमति पाएको भन्दा निकै बढी काठ कटान गरिएको र सुकेको, ढलेको रूख काट्नुको सट्टा हरियो सग्लो रूख कटान गरिएको उनी बताउँछन् । अनुमति विपरीतको काठ कटानको भिडियो आफूले खिचेर राखेको भएपनि बन रक्षक कमान्डर बस्नेतले दवाव दिएर भिडियो डिलिट गर्न लगाएको र सो विषय गुपचुप राख्न घुस दिन खोजिएको उनको भनाई छ ।

रूख बढी कटान गरेर अनियमितता गरिएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए । उजुरीपछि अख्तियारले बन कार्यालयलाई छानविनका लागि पत्र पठाए लगत्तै आफूलाई सरुवा गरिएको बिष्ट बताउँछन् । ‘अख्तियारको पत्र आएपछि त्यो भन्दा एक दिन अघिको डेटमा पत्र बनाएर मलाई सरुवा गर्दिए,’ बिष्ट भन्छन्, ‘मैले पैसा लिन मानिन, बन मास्न दिन हुँदैन भनेर आवाज उठाए, त्यसैले यो बाट अफ्ठेरो पर्नसक्छ भनेर पलाई सरुवा गरेका हुन् ।’

उनलाई सर्लाहीको सागरनाथ बन परियोजना २ नं.गुल्म तालिम केन्द्रमा सरुवा गरिएको हो । तर, उनी त्यहाँ हाजिर हुन गएका छैनन् । आफूले सही काम गर्दा गर्दै नियतबस सरुवा गरेर दुख दिन खोजिएकाले सरुवा फिर्ता हुनुपर्ने र मिलेमतोमा बन फडानी गर्नेहरूमाथि कारवाही हुनुपर्ने उनको माग छ । अख्तियारको निर्देशनमा डिभिजन बन कार्यालयले गरेको अनुसन्धानमा पनि अनुमति पाएको भन्दा झण्डै ५ सय क्यूफिट बढी काठ कटान गरेको देखिएको थियो ।

तर, घुस लिन नमानेकै आधारमा बिष्टको सरुवा भएको नभई बन विभागले आवश्यकताका आधारमा उनलाई सरुवा गरेको सलकपुरस्थित सव डिभिजन वन कार्यालयका प्रमुख लालबहादुर माझी बताउँछन् । सरुवामा आफ्नो कुनै भूमिका नरहेको उनको तर्क छ । यता, बन रक्षक कमान्डर बस्नेतले पनि आफुसँग पैसाको बिषयमा कुनै कुरा नभएको भन्दै आरोप निराधार रहेको दावी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!