- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । जनता समाजवादी पार्टी (जसपा) का धनकुटा जिल्ला उपाध्यक्ष विकास घिमिरेसहित १५ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । उनीहरूले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिएको जानकारी दिएका हुन् ।

Advertisement

जिल्ला उपाध्यक्ष घिमिरे, सचिव श्रीराम रायमाझी, धनकुटा नगर अध्यक्ष दिलकुमार राई, महालक्ष्मी नगर अध्यक्ष नरेन तुम्वा र सचिवालय सदस्य सबिन श्रेष्ठले राजीनामा दिएका छन् । त्यस्तै जिल्ला सदस्य सचिन राई, सजेन्द्र तामाङ, देवेन्द्र राई, धनकुटा नगर उपाध्यक्ष फणिन्द्र बस्नेत, धनकुटा नगर उपसचिव राजबहादुर राई, नगर सदस्य भुवन साम्पाङ्ग र धनकुटा नगर युवा संघ अध्यक्ष विष्णु कार्कीले पनि राजीनामा दिएका छन् । त्यस्तैगरी, धनकुटा नगर वडा नं. १ का अध्यक्ष विमल भट्टराई, धनकुटा नगरपालिका ३ का वडा सदस्य विष्णु रसाइली र धनकुटा नगर कमिटी सदस्य शुक्रबहादुर राईले पनि पार्टी छोडेका छन् ।

उनीहरूले पार्टी नेतृत्व तहमा आ-आफ्नो स्वार्थका कारण आन्तरिक समस्या सिर्जना भएको र आगामी दिनमा जनताप्रति पार्टी उत्तरदायी बन्ने विषयमा विश्वास नभएकाले राजीनामा दिएको उल्लेख गरेका छन् । ‘पछिल्लो समय पार्टी नेतृत्व तहमा आ–आफ्नो स्वार्थ, दम्भ र लालचका कारण आन्तरिक समस्या सिर्जना भएको छ, जसका कारण पार्टीको विभिन्न तहमा नेता कार्यकर्ताको विचलनले पार्टी कमजोर बन्दै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी भित्रको समस्याले आगामी दिनमा पार्टी र संगठन मजबुत बन्ने र जनताप्रति उत्तरदायी बन्ने विषयमा विश्वास गर्न सक्ने अवस्था नरहेकाले जसपाको आ-आफ्नो जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरी राजीनामा पत्र सार्वजनिक गरिएको छ ।’

केही दिन अघि जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसहितका नेताहरूले जसपा छोडेका थिए । भट्टराईले नयाँ पार्टीका रुपमा नेपाल समाजवादी पार्टी खोलेका छन् । जसपामा अहिले पार्टी केन्द्रदेखि जिल्ला तहसम्म नै समस्या सृजना हुँदै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!