संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउँन नेपाल सरकार समक्ष माग गरेकी छन् । आइतबार प्रदेश नं. १ प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपाल आयल निगमले भाउ नघटाएको भन्दै तत्काल मूल्य घटाउन सरकारसमक्ष माग गरेकी हुन् ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा तत्काल भाउ बढाउँने गरिएको भएपनि अहिले दुई पटक मूल्य घटेर आउँदा पनि मूल्य समायोजन गरेर भाउ नघटाइएको भन्दै सांसद श्रेष्ठले आक्रोश पोखिन् । ‘नेपाली बजारमा २०७७ साल पुस यता हप्तामा दुई पटकसम्म मूल्य बढ्दै अहिलेसम्म आउँदा मूल्य दोब्बर भइसकेको छ । जनताले मूल्यवृद्धिको मार खेपिरहनु परेको छ, सबै क्षेत्रमा प्रत्यक्ष प्रभाव परिरहेको छ,’ सांसद श्रेष्ठले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भोलिपल्टै यहाँ पनि मूल्य बढाइन्छ, अहिले यत्रो दुई-दुई पटक मूल्य घटेर आउँदा चै मूल्य घटाउन सरकार किन बेखबर छ, सभामुख ज्यू मार्फत म केन्द्रिय सरकारको ध्यानाकर्षण गराउँदै तुरुन्तै मूल्य समायोजन गरियोस्, भाउ घटाएर जनतालाई पेट्रोलियम पदार्थ उपलब्ध गराइयोस् भन्ने माग गर्न चाहन्छु ।’

इन्डियन आयल कर्पोरेसनले मूल्य बढाउँदा नेपाल आयल निगमले पनि मूल्य समायोजन गरिएको भन्दै भाउ बढाउँदै आएको छ । पछिल्लो दुई पटक इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएको छ । तरपनि आयल निगमले घाटा कायम रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य नघटाई यथावत राखेको छ । अहिले पेट्रोल प्रतिलिटर १८१, डिजेल र मट्टितेल १७२ तथा एलपी ग्यास प्रतिसिलिन्डर १८०० रुपैयाँ कायम छ । यो मूल्य तत्काल घटाउन माग गर्दै सांसद श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

पहिरो पीडितलाई राहत माग

फरक प्रसङ्गमा बोल्दै सांसद श्रेष्ठले धनकुटाको महालक्ष्मी नगरपालिका–२ का पहिरो पीडितलाई राहत उपलब्ध गराउँन पनि माग गरिन् । बर्षासँगै गत शुक्रबार राती गएको पहिरोले महालक्ष्मी–२ लाप्टाङका तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर बगाएको छ ।

पहिरोमा परी ८४ वर्षीय घरधनी कटुवाल र उनकी छोरी ५० वर्षीया मित्रमाया कटुवाल घाइते छन् । पहिरोले घरसहित सम्पूर्ण सामान पुर्दा बुढाथोकीको घरमा करिब ४० लाख र कटुवालको घरमा करिब ३० लाख क्षति भएको छ । पहिरोले घर पुरेपछि उनीहरूको बिचल्ली भएको छ ।

धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद श्रेष्ठले गृहजिल्लाका पहिरो पीडित कटुवाल र बुढाथोकी परिवारलाई राहत उपलब्ध गराउँन प्रदेश सरकार समक्ष माग गरेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!