- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ लाप्टाङमा गएराती पहिरोले दुई वटा घर बगाएको छ । बर्षासँगै मध्यराति घर माथिबाट सुरु भएको पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर बगाएर पुरेको हो ।

पहिरोले घर पुर्दा ८४ वर्षीय घरधनी कटुवाल र उनकी छोरी करिब ५० वर्षीया मित्रमाया कटुवाल घाइते भएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिँदा मित्रमायाको दुवै हात भाँचिएको छ भने शरीरका बिभिन्न भागमा चोट लागेको छ । शरीरमा चोटपटक लागेर तिलकबहादुर पनि घाइते छन् । घाइते दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ‘घर नजिकबाट सुरु भएको पहिरोले दुई वटै घर बगाएको छ,’ एसपी अधिकारीले संगालोखबरसँग भने, ‘पहिरोमा पुरिएका बुवा–छोरीलाई उद्धार गरेर उपचारका लागि धरान पठाएका छौं ।’

भिरालो जमिनमा बुढाथोकीको घर मास्तिर र कटुवालको तर तल्तिर थियो । बुढाथोकीको घर नजिकबाट सुरु भएको पहिरोले दुवै घर बगाएर पुरेको हो । पहिरोका कारण बुढाथोकीको घरमा करिब ४० लाख र कटुवालको घरमा करिब ३० लाख गरी झण्डै ७० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीका अनुसार बुढाथोकीको घरसहित घरभित्र रहेको सरसामान, लत्ताकपडा, भाडा, अन्न, छ तोला सुन, १० तोला चाँदी, तीन लाख नगद, एउटा एलइडी टिभी र दुई वटा मोबाइल पहिरोमा पुरिएको छ । त्यस्तै, कटुवालको घरसहित घरभित्र रहेको सरसामान, लत्ताकपडा, भाडा, अन्न, चार तोला सुन र ५० तोला चाँदी पुरिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारीपछि जितपुर प्रहरी चौकी र मारेककटहरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । घटनास्थल मारेककटहरे प्रहरी चौकीबाट झण्डै ८ किलोमिटर पश्चिममा पर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!