- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं.२०२२ अगष्ट ५ नेपाल सम्बत ११४२ गुंलाथ्व अष्टमी श्रावण शुक्ल अष्टमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल अष्टमी तिथी, चन्द्रमा तुला राशिमा, उत्तर स्वाति नक्षत्र, शुभ योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ५ः२९ बजे, सूर्यास्त साँझ ६ः५० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ९ मिनेट देखि ८ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खेलवाड र मनोरञ्जनमा अलमलिंदा अवसर गुम्ने खतरा छ । राम्रो रिजल्ट निकाल्न राम्ररी खट्नुपर्ने समय हो । रूचि र इच्छाअनुसार अधिकतम समय बिताउन मनलाग्छ, आफूभित्रको चलाखीपन र बुद्धिकौशलका माध्यमबाट जस्तै चुनौती देखिए पनि समस्यालाई हल गरी अघि बढ्न सक्नुहुन्छ । कार्यक्षेत्रमा निकै खट्नु परे पनि मनमा सन्तुष्टिको आभास हुनेछ, आज आफन्तसँग वा घरपरिवारमा केही समय बिताउनु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भेटघाट र मिलनको समय छ, तर बेकारका कुराकानी र ख्यालठट्टाले आपसी दूरी बढ्नसक्छ । मौसमी रोगको सामान्य जोखिम छ, सचेत हुँदै कार्यक्षेत्रमा खट्ने समय हो, व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिने छ । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक वातावरण सुखमय नै रहनेछ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने र भविष्यमा कलहको परिस्थिति खडा हुने दिन हो । रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । सम्झौता वा करार गर्न अनुकूल समय छ, दैनिक कामबाट समेत फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । असन्तुष्टिले डेरा जमाउने दिन छ, मन एकतमासको बन्नेछ, लड्ने,रूचिप्लने सम्भावना पनि छ, बोल्दा पनि ख्याल राख्नु होला, नत्र सिनियर्ससित झगडापर्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
औजार, हातहतियार वा सरकारसम्बन्ध ठेक्कापट्टा वा काम नै व्यवसाय हो भने राम्रो लाभ पाउने दिन हो, काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्ने दिन छ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, तथापि मस्तिष्क अत्यन्त क्रियाशील रहने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, साथै आफ्नो रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने समय हो । भ्रम र महत्त्वाकाङ्क्षामा अलमलिनाले चाहिंदारनचाहिंदा काम गर्ने मनसाय बन्नसक्छ । उता विपरीत लिङ्गीसँगको सम्बन्धमा समेत चिसोपन आउनसक्छ । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीहरूले खुसी हुने मौका पाउनेछन्, नयाँ काममा थप लगानी गर्ने मनस्थिति बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पटकपटक चिन्तन गर्नुपर्छ, कसैको उकसाहटमा काम गर्दा षड्यन्त्रको खाडलमा पर्न सकिन्छ । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा लाभ मिल्ने समय छ । अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यर्थका कुराकानीमा समय व्यतीत गर्न मन पर्नेछ । मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । बढ्दै गरेको पारिवारिक खर्चले थप मिहिनेत गर्न हौसला प्रदान गर्नेछ । कुनै ठोस काम अघि बढाउनु छ भने मातापिता वा सिनियर साथीहरूको सहमतिमा गर्नुहोला । दैनिक कामकाज सम्पन्न गर्न निकै धपेडी गर्ने वेला छ, कुनै काम गर्दा बाधा वा अवरोध पनि हुनसक्छ, तर दोहोर्याएर प्रयास गरेमा थालेको कामले पूणर्ता पाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ । आज कारणवश लुक्नुपर्ने वा मोबाइल स्रूचिअफ गर्ने परिस्थिति सिर्जना हुनेछ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अहङ्कार, अडान र आडम्बर कमजोरी बन्नसक्छन्, त्यसैले तिनलाई त्यागेर आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु ठीक हुन्छ । स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलो हुनसक्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!