- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं.२०२२ अगष्ट ४ नेपाल सम्बत ११४२ गुंलाथ्व षष्ठी श्रावण शुक्ल सप्तमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल षष्ठी तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर चित्रा नक्षत्र, साध्य योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः२८ बजे, सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २८ मिनेट देखि ७ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ । मौजमस्ती र आनन्दका लागि समय प्रदान गर्ने दिन हो, तथापि तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफ्नो काममा मात्र ध्यानकेन्द्रित गर्ने दिन हो । अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । प्रतिस्पद्र्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । हरेक मान्छे प्रयास, प्रतिस्पद्र्धा र सिकाइका आधारमा मात्र दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । त्यस्तो कुनै आकस्मिक निणर्य लिनुपर्ने बाध्यता हुनसक्छ, जुन तपाईंको आत्मसम्मान र गरिमा विपरीत हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति छ, यद्यपि उच्च शिक्षाका विद्यार्थीका लागि राम्रो समय देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति पनि बन्नसक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । कडा परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ, सहकर्मीहरूले तपाईंको क्षमतामाथि विश्वास गर्न थाल्नेछन्, जुनियर स्टाफ र सहयोगीका भावनालाई बुझ्ने प्रयास गर्नुहोला । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही र जुनियर स्टाफ रुष्ट हुनसक्ने समय हो, तर सहकर्मीको साथ पाउनाले जटिल समस्यासमेत हल गर्न सकिने छ । सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनुपर्ने हुन्छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, हिजोअस्तिका तुलनामा केही न केही धनार्जनको अवसर मिल्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
छलछाम र हेलचक्र्याइँ नगर्नुहोला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । रिस र घमण्डको कुचक्रमा फँस्ने दिन हो । आत्मसंयम बन्ने प्रयास गर्नुहोला, नत्र परिस्थिति अझ जटिल बन्नसक्छ । सामान्य मानेको लापरवाहीले समेत दण्डरजरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
इच्छा र आकाङ्क्षाले पूणर्ता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । दैनिक कामधन्दामा सहजताको अनुभूति हुनेछ, दाम्पत्य जीवनमा पनि सोचेजस्तै समझदारी रहने दिन छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो, अतः प्रतिष्ठा बढाउने कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । बेरोजगारी हटाउने प्रयास सफल हुनेछ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो । हाकिम वा नेतृत्व पङ्क्तिका विशिष्ट व्यक्तित्वको सहयोग जुटाउन सकिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । मनमा सलबलाएको कुनै राम्रो योजनाको कार्यान्वयन गर्न सकिने छ । दिनदुःखी र बृद्धबृद्धाको सहयोग गर्दा भाग्य बढ्ने समय छ । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ । धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ । दिगो स्रोत जुटाउने समय हो, चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ, व्यवहारिक जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यको पनि ख्याल राख्ने समय हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!