- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको निवुवा–तांखुवा जलधार क्षेत्र संरक्षणका लागि सप्ताहव्यापी वृक्षरोपण कार्यक्रम गरेर ५० हजार बिरुवा रोपिएको छ । धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाले ०७६ सालदेखि अन्तर्राष्ट्रिय पर्वतिय विकास केन्द्र (इसिमोड) सँग मिलेर निवुवा खोला र ताङखुवा खोला जलधार क्षेत्रको मुहान संरक्षणको काम गरिरहेको छ । सोही संस्था इसिमोडले बुधबार कार्यक्रम गरेर वृक्षरोपणको विषयमा जानकारी दिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाको ६ वटा वडा र छथर जोरपाटी गाउँपालिकाको २ वटा वडाभित्र सरोकारवालाहरूसँग मिलेर वृक्षरोपण गरिएको धनकुटा नगरपालिकाका कर्मचारी विकास अधिकारीले जानकारी दिए । धनकुटा नगरको वडा नं. २ मा अम्वा, सुन्तला, जामुन, चिउरी, खयर लगायत ६ हजार ७ सय विरुवा रोपिएको छ । वडा नं.८ मा ५ हजार ५ सय, सुकेपोखरी पकेट क्षेत्रमा ६ हजार १ सय र वडा नं.३ मा ४ हजार ३ सय ५० विरुवा रोपिएको छ ।

त्यस्तै छथर जोरपाटी वडा नं.२ को ओक्मालुङ पकेट क्षेत्रमा ७ हजार ८ सय र ध्वजेडाँडा पकेट क्षेत्रमा ८ हजार ५ सय ५० वटा विभिन्न प्रजातिका विरुवा रोपिएको छ । छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा धुपि, मेन्डला, कल्की, इपिल, टाँकी लगायतका ५ हजार बिरुवा रोपिएको छ । जलधार क्षेत्रमा पानीका मुहानहरु संरक्षण गर्ने, जंगली जनवारलाई आहार हुने र पशुचौपायाका लागि डाले घाँस हुने गरी तीन हिसाबले वृक्षरोपण गरिएको इसिमोडका वन पुनरुत्थान तथा जलवायु विज्ञ नविन भट्टराईले जानकारी दिए ।

तमोरबाटै ल्याएर भएपनि पानी खुवाउँछौ: मेयर तामाङ्ग

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानीको मुहान रहेको क्षेत्रहरूमा पानी सुक्न नदिनका लागि बृक्षरोपणले महत्वपूर्ण भूमिका खेल्ने बताए । धनकुटाको तल्लो भेग तिर पानीको निकै अभाव रहेको भन्दै मेयर तामाङले सुख्खा क्षेत्रमा बर्खाको पानी सञ्चय गर्ने कार्यक्रम ल्याइने जानकारी दिए ।

उनले डिप बोरिङबाट पानी निकाल्ने काम सफल नभए तमोरको पानी लिफ्टिङ गरेर भएपनि धनकुटा नगरवासीलाई पानी खुवाउँने दावी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!