- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघले सबैको अपनत्व हुने गरी प्रदेश नं.१ को नामकरण गर्न माग गरेको छ । धनकुटामा आयोजित अनेमसंघको प्रदेश स्तरीय युवा भेला तथा अभिमुखीकरण कार्यक्रम समापनका अवसरमा आइतबार ७ वुँदे घोषणापत्र सार्वजनिक गर्दै संघले प्रदेशको नाम साझा अपनत्व ग्रहण गर्न सक्ने हिसाबले राख्न माग गरेको हो ।

पाँच वर्षसम्म प्रदेशको नामकरण हुन नसकेको प्रति संघले दुःख व्यक्त गर्दै अब तत्काल नामकरण टुंग्याउन माग गरेको छ । ‘प्रदेश नं.१ को नामकरण आज ५ वर्ष बित्न लाग्दासमेत हुन नसकेकोमा यो भेला दुःख व्यक्त गर्दछ,’ नामकरणमा जोड दिदैँ घोषणा पत्रमा भनिएको छ, ‘अविलम्ब सर्वस्वीकार्य साझा अपनत्व ग्रहण गर्न सक्ने हिसाबले तत्काल नामकरण गर्न प्रदेश सरकार तथा सम्बन्धित सबैमा यो भेला जोडदार माग गर्दछ ।’ प्रदेश १ को नामकरण गर्ने तयारी भइरहेका बेला अनेमसंघले पनि यो विषयमा चासो राखेको हो । प्रदेश सभाको पाँच वर्षे कार्यकाल सकिन अब केही महिनामात्र बाँकी छ । यही कार्यकालमा प्रदेशको नामकरण गर्न दलहरू सहमत भएका छन् । तर, नामको विषयमा सहमति जुट्न नसक्दा नामकरणमा अन्यौलता छाएको छ ।

जातीय पहिचान वा साझा नाम राख्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा प्रदेशको नामकरण टुंगो लाग्न नसकेको हो । अहिले पहिचानका आधारमा किरात, लिम्बुवान जस्ता नाम राख्नुपर्ने माग गर्दै बिभिन्न जातीय संघसंस्थाले दवाव दिइरहेका छन् । अर्को पक्षले जातीय पहिचानका आधारमा नभई सबैको अपनत्व हुने हिसाबले साझा नाम राख्नुपर्ने माग गरिरहेको छ । कोशी, सगरमाथा जस्ता साझा नाम राख्नुपर्ने उनीहरूको माग छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि साझा अपनत्व हुने हिसाबले नाम राख्नुपर्नेमा जोड दिदैँ प्रदेशको नाम ‘कोशी’ प्रस्ताव गरेको छ । अनेमसंघले पनि पार्टीको धारणा अनरुप नै साझा नामको पक्षमा घोषणा पत्र सार्वजनिक गरेको हो ।

भेलामा सहभागिहरु । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

अनेमसंघले मूल्यवृद्धि नियन्त्रण गर्न, खोटाङलाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पबाट क्षति भएकाहरूलाई राहतको व्यवस्था गर्न, नागरिकता विधेयक फिर्ता गर्न, यौनहिंसाका पीडकलाई कडा कारबाही गरी पीडितलाई न्याय दिलाउन र साइबर क्राइम रोकथाम गर्न पनि माग गरेको छ । त्यस्तै, भेलाले अनेमसंघमा १८ देखि ३० बर्ष उमेर समूहका युवाहरूको संख्या वृद्धि गर्न थप १५ हजार सदस्य थप्न पनि मातहत कमिटीहरूलाई निर्देशन दिएको छ ।

संघको भेला दुई दिनसम्म चलेको थियो । भेलामा प्रदेश १ का १४ वटै जिल्लाका करिब डेढ सय सहभागि थिए । भेला समापनका अवसरमा पत्रकार सम्मेलन गरेर घोषणा पत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा अनेमसंघका केन्द्रीय सदस्य मञ्जु भण्डारीले घोषणा पत्र वाचन गरेर सुनाएकी थिइन् ।

यसैबीच, अनेमसंघको भेलाले सुभेक्षा सापकोटाको अध्यक्षतामा ५१ सदस्यीय अखिल नेपाल युवा महिला संघ प्रदेश समिति पनि गठन गरेको छ । संघको उपाध्यक्षमा कविता बान्तवा राई, सचिवमा दुर्गा गौतम, उपसचिवमा सिता बराल, मनिता पौडेल र कोषाध्यक्षमा सुशिला तामाङलाई चयन गरिएको अनेमसंघका प्रदेश संयोजक मेनुका काफ्लेले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!