- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमतिपत्रका लागि यही साउन १६ गते प्रयोगात्मक परीक्षा लिने भएको छ । साउन ११ गतेदेखि फारम भरेका सेवाग्राहीहरुबाट साउन १५ गते बायोमेट्रिक लिने, राजस्व संकलन गर्ने र मेडिकल गरिनेछ ।

Advertisement

उनीहरुको ट्रायल परीक्षा साउन १६ गते हुँने कार्यालयले जनाएको छ । पाथिभरा ड्राईभिङ स्कुलको ट्रायल सेन्टरमा ट्रायल लिइनेछ । यातायात व्यवस्था सेवा कार्यालय, विराटनगरसँग सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाका लागि आफ्नै ट्रायल सेन्टर छैन । ट्रायल सेन्टर भाडामा लिन कार्यालयले १५ दिने सूचना आव्हान गरेको थियो । सूचनापछि विराटनगरका आदा दर्जन बढी ट्रायल सेन्टरले दररेटसहित टेन्डर हाले । तर, विराटनगर–३ स्थित पाथीभरा ड्राईभिङ स्कुलले निःशुल्क ट्रायल सेन्टर उपलब्ध गराउँने भएपछि कार्यालयले सोही सेन्टरवाट परीक्षा गराउँने गरी सम्झौता गरेको हो । परीक्षाका लागि ट्रायल सेन्टर पूर्ण रुपमा तयारी अवस्थामा रहेको पाथिभरा ड्राईभिङ स्कुलका सञ्चालक शुनिल कामतले बताए । त्यहाँबाट एक बर्षसम्म निशुल्क सेवा दिइने कामतको भनाई छ ।

यातायात व्यवस्था कार्यालय विराटनगरले गत साउन ११ गते बुधबार बेलुकादेखि अनलाइन फारम खुलाएको हो । विराटनगरबाटै लाइसेन्स पाइने भएपछि २ दिनभित्र १ हजार ३ सय १४ जनाले फारम भरेको कार्यालयका प्रमुख अनमोलमणी भट्टराईले जानकारी दिए । विराटनगरबाट ट्रायलका लागि साउन २५ गतेसम्म प्याक भईसकेको छ । अहिले दैनिक मोटरसाइकलका लागि १ सय, स्कुटर ४०, कार, जिप र भेन ५०, ट्याक्टर १५ वटा त्यसैगरी ट्याम्पो सिटी सफारी गरी २१५ कोटाका लागि अनलाइन फारम खोलिएको छ ।

केही बर्ष अघिसम्म प्रदेश १ मा इटहरीबाट मात्र लाइसेन्सको परीक्षा गर्ने गरिएको थियो । त्यसपछि विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट पनि परीक्षा लिन थालियो, अहिले विराटनगरवाट पनि सेवा सुरु भएको हो । यसअघि विराटनगरवासीलाई लाइसेन्सका लागि इटहरी धाउनुपर्ने वाध्यता थियो । अब, आफ्नै ठाउँबाट लाइसेन्स पाइने भएपछि विराटनगरवासी हर्षित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!