ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ जुलाइ २७ नेपाल सम्बत ११४२ दिल्लागा चतुर्दशी श्रावण कुष्ण चतुर्दशी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कुष्ण चतुर्दशी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, हर्षण योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ५ः२४ बजे, सूर्यास्त साँझ ६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २४ मिनेट देखि ७ बजे सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा गम्भीर भएर जानकारी बटुल्न सक्नुहुन्छ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति पनि बन्नसक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै उपहार वा धन प्राप्त हुने सम्भावना छ । सिनियर कर्मचारी वा हाकिम प्रसन्न हुने दिन हो । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । तपाईंभित्र निणर्य गर्ने, न्याय गर्ने र विशेष काम गर्ने अद्भूत क्षमता देखा पर्नेछ । आज तपाईंको बोलीमा समेत विशेष प्रभाव देखिने छ, मुखैका माध्यमले कुनै गतिलो काम बनाउन सक्नुहुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीहरूले खुसी हुने मौका पाउनेछन्, नयाँ काममा थप लगानी गर्ने मनस्थिति बन्नसक्छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नुहोला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जुनियर स्टाफ वा सहयोगीको साथ पाउनाले कार्यसम्पादनमा सहजता आउने छ, सामूहिक भावनाको विकास हुने तथा सम्मानित र प्रतिष्ठित बन्नसक्ने समय छ । सरकारी काम, ठेकापट्टा वा अन्य कुनै कारोवार छ भने अड्किएको काम फुकाउन सकिने दिन हो । प्रयास गरेमा आज जुनसुकै क्षेत्रमा लाभ पाउन सकिन्छ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बढ्दै गरेको पारिवारिक खर्चले थप मिहिनेत गर्न हौसला प्रदान गर्नेछ । कुनै ठोस काम अघि बढाउनु छ भने मातापिता वा सिनियर साथीहरूको सहमतिमा गर्नुहोला । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अचानक परिस्थिति फेरिएर अनुकूल जिम्मेबारी प्राप्त हुने समय हो । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । व्यक्तित्व विकासको चिन्ता बढ्ने दिन छ । नयाँ सीप वा ज्ञान प्राप्तिका निमित्त अवसर मिल्नेछ, जागरूकता देखाएमा भाग्यले साथ दिने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काम गर्ने जाँगरमा कमी आउनसक्छ, मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय छ, तर काम बाँकी राख्नाले पछि आफैंलाई लोड बढ्नेछ, होस राख्नुपर्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नुहोला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । इच्छित काम पूरा गर्न सकिंदैन, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । काम विशेषले आर्थिक बोझसमेत बढ्नसक्छ, जबकि लगानी र दौडधुपको उचित मूल्य पाउने अवस्था देखिंदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कला, साहित्य र अभिनय क्षेत्रका विद्यार्थीले बाह्य विषयवस्तुमा भन्दा निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय आएको छ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । प्रशस्तै नभए पनि राम्रो आम्दानीको सम्भावना देखिन्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ, तथापि पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनुपर्ने हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नुहोला, नत्र आपसी सम्बन्धमा फाटो बढ्नसक्छ । आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । ज्ञानगुन, शिक्षादीक्षा एवं धार्मिकरआध्यात्मिक विषयवस्तु प्रतिको आकर्षण बढ्ने दिन हो, शैक्षिक क्षेत्रमा हो भने राम्रो प्रतिफलसमेत हात पर्नेछ । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति छ, यद्यपि उच्च शिक्षाका विद्यार्थीका लागि राम्रो समय देखिन्छ । निणर्यात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने समय छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ । कार्यालयीय काम सजिलै सम्पन्न हुने र सन्तुष्टि लिन सकिने दिन हो, तर आज घरपरिवार वा आफन्तको भावनालाई समेट्न सकेमा थप सन्तुष्टि मिल्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!