संगालोखबर सम्वाददाता

खोटाङ । साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ । साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव आइतबार बिहान ५ बजे घर ल्याइएको हो ।

Advertisement

शवलाई स्वदेश ल्याउन आलटाल भइरहेको परिवारको गुनासो थियो । पैसा कमाउन विदेश जाँदा बाकसमा फर्किएका राईको आइतबार राई संस्कार अनुसार दाहसंस्कार गरिएको छ । रेष्टुरेन्ट वर्करको रुपमा गत माघ २६ गते अहम्द नाजी फलेह अल डोसारी रेष्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो ।

उनी मासिक एक हजार रियल पाउनेगरी काठमाडौंको काठमाडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जाने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको आफन्त हिराधन चाम्लिङले बताए । तर मेनपावरको ढिलासुस्तीका कारण शव ल्याउन दुई महिना समय लागेको हो ।

तस्बिर र भिडियोमा राईको गाडीको ठक्करबाट टाउको फुटेर रगत बगेको देखिन्छ । तर हाफर अल बटिन किंग खालेद जनरल अस्पताल अफर अल अबटिनमा स्वास्थ्य मामिला निर्देशनालयको मृत्यु रिपोर्टमा ‘टाउको, घाँटी र छातीमा कुनै देखिने चोट नभएको, माथिल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको र तल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको’ उल्लेख छ । यस्तै मृतकको शरीरमा कुनै पनि कपडा नभएकाले आफन्त थप दुःखित बनेका छन् ।

राईका श्रीमती जुनकला, पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरा छन् । श्रीमानको शव आउन ढिलाइ भएपछि जुनकला बच्चा काखी च्यापेर आफन्तसँग पटक–पटक मेनपावरको कार्यालय र वैदेसिक रोजगार बोर्डको सचिवालय पुगेकी थिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!