संगालोखबर सम्वाददाता

विराटनगर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विराटनगरमा बुधबार विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । विराटनगर महानगरपालिका–८ देवकोटा चोक नजिक रहेको नेपाल राष्ट्र बैंकको शाखा कार्यालयको मूल गेट अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

Advertisement

संयुक्त विद्यार्थी संगठनको आयोजनामा दिउँसो करिब १ बजे प्रदर्शन गरिएको हो । अनेरास्ववियू क्रान्तिकारीका १ नम्बर प्रदेश अध्यक्ष हेमन्त किरातीको नेतृत्वमा कालो ब्यानर बोकेर विद्यार्थीहरू बैंक अगाडि पुगेका थिए । विद्यार्थी सङ्गठनहरूले गभर्नर अधिकारीको राजीनामा माग गर्दै कालो ब्यानर टाँस्ने कार्यक्रम तय गरेका थिए । उनीहरूले बैंकको अगाडि कालो ब्यानर टाँगेर प्रदर्शन गरेका हुन् ।

सोही क्रममा उनीहरूले गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरे । ‘एमाले गभर्नर राजीनामा दे, गभर्नर महाप्रसाद अधिकारी मुर्दावाद’ जस्ता नारा लगाउँदै उनीहरूले राष्ट्र बैंकको गेट अगाडि केही समय प्रदर्शन गरेका हुन् ।

गभर्नर अधिकारीको नाम नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेको दावी गर्दै विद्यार्थीहरूले उनले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारीको नाम उल्लेख छ । सो विभागको नामावली सार्वजनिक भएपछि अन्य दलले सो व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको दावी गर्दै आएका छन् ।

तर, गभर्नर अधिकारीले आफू सो विभागमा नभएको जिकिर गरेका छन् । नेकपा एमालेले पनि एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी बेग्लै व्यक्ति भएको दावी गर्दै आएको छ । यो विषयलाई लिएर एमाले बाहेकका दलहरूले गभर्नर अधिकारीको विरोध गर्दै आएका छन् । उनीहरूले गभर्नर अधिकारी विवादित बनेकाले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!