संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले प्रदेश १ को नामकरण गर्दा सबैलाई समेट्ने गरी साझा नाम राख्नुपर्ने बताएका छन् । प्रेस चौतारी प्रदेश कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

Advertisement

नेकपा एमाले साझा नाम राख्नुपर्ने पक्षमा रहेको भन्दै उनले प्रदेशको नामले यहाँका सबै समुदायलाई समेट्न सक्नुपर्ने धारणा राखे । ‘एमालेको धारणा प्रदेशको नाम सबैलाई समेट्ने हिसाबले राख्नुपर्छ भन्ने हो,’ नेता पोखरेलले भने, ‘साझा नाम हुनुपर्छ, जसले सबैलाई समेट्न सक्नुपर्छ ।’ प्रदेशको नामकरण गर्ने अधिकार प्रदेश सभालाई भएकाले यसमा केन्द्रले हस्तक्षेप नगर्ने उनले बताए ।

नेकपा एमाले पहिलेदेखिनै साझा नाम राख्नुपर्ने पक्षमा उभिएको छ । एमालेले सबै प्रदेशवासीको अपनत्व हुन सक्ने र कसैलाई पनि विभेद नहुँने भएकाले ‘कोशी’ नाम राख्नुपर्ने प्रस्ताव गरेको छ । कोशी, सप्तकोसी, सगरमाथा, किरात लगायत नाम अहिले चर्चामा छन् । पहिचान पक्षधरहरूले अहिले पहिचानसहितको नामकरणमा दवाव दिइरहेका छन् ।

प्रदेश १ को नामकरण गर्ने अन्तिम तयारी भइरहेका बेला नेता पोखरेलले साझा नाम राख्नुपर्नेमा जोड दिएका हुन् । यसअघि केही महिना अघि झापाको बिर्तामोडमा भएको प्रेस चौतारीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सबैलाई समेट्ने भएकाले प्रदेशको नाम कोशी नामकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

फरक प्रसङ्गमा बोल्दै नेता पोखरेलले प्रदेश खारेजीको हल्लामा कुनै तुक नभएको जिकिर गरे । कसैलाई मन लाग्दा प्रदेश राख्ने, नभए खारेज गर्ने कुरा नहुने भन्दै उनले प्रदेश खारेज गर्नु केटाकेटीको खेलजस्तो नभएको टिप्पणी गरे । बाम तालमेलको चर्चा चलेपनि तत्काल यो सम्भव नहुने उनले बताए । आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाधीनता, सद्भाव कायम गर्ने लगायत हिसाबमा सरकार असफल र नालायक सावित भइसकेको उनले टिप्पणी गरे ।

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेले राष्ट्रिय स्तरमा कसैसँग तालमेल गर्ने पक्षमा नरहेको उनले बताए । अरुले तालमेल गरेर आएपनि एमाले एक्लै चुनाव भिड्न सक्षम रहेको नेता पोखरेलले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!