- संगालोखबर सम्वाददाता

खोटाङ  । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोल जस्तो गन्ध आउने ड्यु भेटिएको दाबी गरेका छन् । साउने संक्रान्तीका दिन मासुसँग पिउनका लागि दिक्तेल बजारमा खरिद गरेको ड्युमा पेट्रोलको गन्ध आएको दाबी गरेका हुन् ।

स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेल बजारको एउटै पसलबाट सवा दुई लिटरको तीन बोतल जम्बो ड्यु खरिद गरेका थिए । छिमेकी सावित्रा कट्वाललाई लगिदिएको एक बोतल ड्युमा भने कुनै समस्या नदेखिएको सुर्यबहादुरले बताए ।

बरुण बेभरेज नेपाल प्रालि, काठ्माडौंले उत्पादन गरेको माउण्टेन ड्युको बोतलमा १८ मे २०२२ मा उत्पादन मिति उल्लेख छ । दुबै बोतलको पिँध अन्य बोतलको भन्दा फरक देखिन्छ । बोतलको पिँधमा फुल्न लागेजस्तो, कुच्चिए जस्तो र चर्किए जस्तो देखिन्छ । ड्युमा पेट्रोलको गन्ध आएको विषयमा स्थानीय केदार बस्नेतले आइतबार बिहान सामाजिक सञ्जालमा भिडियो शेयर गरेका थिए । त्यसपछि ड्युका डिलर सञ्चालन ग्राहक भेट्न पुगेका थिए । स्थानीय र डिलर सञ्चालकबीचमा चर्काचर्की भएको थियो । ड्युमा मिसावट गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय दावी गर्छन् भने ड्युको डिलर प्रतिनिधि ‘ब्लेम’ लगाएको दावी गरिरहेका छन् । माउण्टेन ड्युका दिक्तेल डिलरका सेल्समेन दिपक खतिवडाले भने कम्पनीबाट नभै ग्राहकबाटै त्रुटी भएको दावी गरेका छन् ।

पेट्रोलको गन्ध आउने ड्यु भेटिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजार अनुगमन टोली स्थलगत अध्ययनमा पुगेको थियो । ड्युमा अखाद्यवस्तु मिसावट भएको आशंकामा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाही नेतृत्वको बजार अनुगमन जिल्ला समन्वय समिति र नगरपालिका अन्तरगतको स्थानीय बजार अनुगमन समितिले सो दुई बोतल ड्यु जफत गरेको छ । प्रहरीसहित पुगेको टोलीले ड्यु खरिद गरिएको पसल तथा ड्युको दिक्तेलस्थित डिलरमा पुगेर निरिक्षण गर्दै ल्याव टेष्टका लागि नमूना संकलन गरेको छ ।

ड्युमा अखाद्यवस्तुको गन्ध आएको विषयमा अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रशासनलाई निवेदन दिएका छन् । पेट्रोलको गन्ध आउने ड्यु भेटिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले पनि चासो दिएका छन् ।

गत २८ असारमा दिक्तेलकै एक पशलमा पेट्रोलको गन्ध आउने ड्यु पिएको खाल्लेकै रामबहादुर बुढाथोकी बताउँछन् । श्वास नै पेट्रोलको गन्ध आएपछि लसुन खाएर हिँडेको बुढाथोकीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!