- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले स्वास्थ्य वीमा उपचार सेवा बन्द गर्ने भएको छ । स्वास्थ्य बिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि नोबेलले सोमबारबाट वीमा उपचार सेवा बन्द गर्न लागेको हो ।

नोबेल अस्पतालले आइतवार सूचना जारी गरेर आइतवार राती १२ बजेबाट वीमा मार्फतको उपचार सेवा बन्द गरिने जनाएको हो । स्वास्थ्य विमामार्फत उपचार गरेबापत स्वास्थ्य बीमा बोर्डले नोबेललाई ५५ करोड रकम भुक्तानी गर्न बाँकी छ । सरकारले अस्पतालहरुलाई बीमा मार्फत उपचार गर्न लगाएर करोडौं रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्नु परेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । ‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नदिदा अस्पतालहरु धरासायी बन्दै गएका छन्, कर्मचारीहरुलाई समयमै तलब खुवाउँन सकिएको छैन, अन्य भुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावित हुँने अवस्था बनिसकेको छ,’ डा.शर्माले भने, ‘सरकार यो बिषयमा गम्भीर बनेन, अरु उपाय नलागेपछि हामीले बाध्य भएर बीमा बापतको उपचार रोक्ने निर्णय लिएका छौं ।’

आर्थिक बर्ष २०७९/८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य विमा कार्यक्रम उपलब्ध गराउँने भनिएको थियो । तर, त्यसपछि अस्पतालहरुलाई कुनै आधिकारीक कुरा नआएकाले अब स्वास्थ्य विमा बापत उपचार गर्दा त्यसको भुक्तानी प्राप्त हुँने वा नहुँने अन्यौल भएकाले पनि विमा कार्यक्रम बन्द गर्नु परेको नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बरालको भनाई छ । बाध्य भएर स्वास्थ्य विमा कार्यक्रम बन्द गर्नु परेको भन्दै नोबेलले आइतवार स्वास्थ्य बीमा बोर्डलाई पनि पत्र पठाएको छ ।

‘बीमा क्लेम अनुसारको रकम समयमा प्राप्त नहुँदा अस्पतालले आर्थिक व्यवस्थापनमा ठूलो कठिनाइ भोग्दै आइरहेको छ । कर्मचारीको तलब, बिभिन्न सप्लायर्सहरुको वाँकी वक्यौता, बैंकको ऋणको किस्ता तथा व्याज, राज्यलाई भुक्तानी गर्नुपर्ने कर लगायत समयमा भुक्तानी गर्न समस्या भएको छ,’ नोबेलले स्वास्थ्य बीमा बोर्डको विराटनगरस्थित प्रदेश कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘बीमा क्लेम बापतको भुक्तानी नभएसम्म र सरकारले नीजि स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य बीमा कार्यक्रम प्रदान गर्ने निस्चित नगरेसम्म स्वास्थ्य विमा कार्यक्रमको उपचार सेवा स्थगन गरिएको छ ।’

विमा बापतको उपचार सेवा बन्द भएपनि पैसा तिरेर गरिने अन्य सबै प्रकारका उपचार सेवा भने सूचारु रहने नोबेल अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!