- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेहरुमाथि धरानका युवाहरुले खबरदारी अभियान थालेका छन् । सरकारी गाडी दुरुपयोगको अनुगमनका लागि धरानको भानुचोकमा बसेर युवाहरुले शनिवारदेखि खबरदारी अभियान थालेका हुन् । अब हरेक सार्वजनिक विदाको दिन यसरी नै खबरदारी गरिने उनीहरुको भनाई छ ।

Advertisement

उनीहरुले सरकारी कर्मचारीदेखि मन्त्रीसम्मलाई पनि सार्वजनिक विदाको दिन सरकारी गाडी लिएर हिडडुल गर्नमा कडाई गरेका छन् । शनिवार बिहान धनकुटा जाँदै गरेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको मे १ झ १४३ नंम्बरको सरकारी गाडीलाई पनि उनीहरुले भानुचोकमा रोकेर खबरदारी गरे । उनीहरुले मन्त्री श्रेष्ठको गाडी रोकेर सोधपुछ गरी केही समयपछि छोडेका थिए । धनकुटाको डाँडाबजारमा आयोजित कार्यक्रममा सहभागि हुँन जादै गर्दा मन्त्री श्रेष्ठ धरानका सर्वसाधरणको घेराबन्दीमा परेकी हुन् । कामको सिलसिलामा गएको खुलाएपछि उनीहरुले मन्त्रीको गाडी छोडेका थिए ।

त्यस्तै, सुनसरीको बर्जु गाउँपालिकाको गाडीलाई पनि उनीहरुले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयमा बुझाएका छन् । शनिवार विदाको दिन कुदाइएका दर्जन भन्दा बढी सरकारी गाडी नियन्त्रणमा लिएर गाडी दुरुपयोग नगर्न खबरदारी गरी सचेत गराएर छोडिएको धरानका स्थानीय युवा रमेश हतुवालीले बताए । ‘तराइमा गर्मी बढेकाले विदाको दिन सरकारी गाडीको दुरुपयोग गर्दै भेडेटार, नमस्ते झर्ना लगायत ठाउँमा घुम्न जाने क्रम बढेको छ,’ हतुवालीले संगालोखबरसँग भने, ‘यसरी सरकारी गाडी दुरुपयोग गर्नेहरुलाई कडाई गर्नका लागि सार्वजनिक विदाको दिन भानुचौकमा धर्ना बसेर सरकारी गाडी नियन्त्रणमा लिन थालेका हौं ।’

अभियानको पहिलो दिन भएकाले शनिवार सरकारी गाडी दुरुपयोग गर्नेहरुलाई सचेत मात्र गराएर छोडिएको भएपनि अब भने नछोड्ने बसोवास बस्ती संरक्षण समाजका सचिव सुवाश राई बताउँछन् । अब सार्वजनिक विदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेहरुलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने उनीहरुको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!