- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आयोजना निर्देशकको कार्यालयले शुक्रबार धनकुटामा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । आयोजना कार्यक्षेत्रमा सञ्चालित आयोजनाहरुका बिषयमा ललितपुरको हरिहरभवनस्थित आयोजना निर्देशकको कार्यालयले सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको हो ।

सो कार्यालयले ६ प्रदेशका ३५ जिल्लामा पर्ने १ सय ७१ स्थानीय तहमा काम गर्दै आएको छ । आयोजनाले ग्रामीण उद्यमशीलता विकासलाई प्रोत्साहित गर्न प्रमुख आर्थिक कोरिडोर क्षेत्रका साना कृषि उत्पादक तथा खरिदकर्ताहरुबीच उत्पादनमूलक साझेदारी, बजार सम्बन्धको विकासमार्फत बजार पहुँच सुदृढ गर्न सहजीकरण गर्ने लगायत काम गर्दै आएको कार्यालयका निर्देशक चन्द्रप्रसाद रिजालले जानकारी दिए ।

ग्रामीण बजार पहुँच सुदृढ गर्ने, उद्यमशील वातावरण निर्माण गर्ने र कोभिड १९ को असरबाट पुनरुत्थानका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको रिजालले बताए ।

 

मध्यपहाडी, भालुवाङ–रोल्पा, हुलाकी पूर्व पश्चिम र महाकाली लोकमार्गले भेट्ने जिल्लामा आयोजना सञ्चालन भइरहेको छ । मध्यपहाडी लोकमार्गका लागि धनकुटाको पाख्रिवासमा, भालुवाङ–रोल्पा लोकमार्गका लागि बुटवलमा, हुलाकी पूर्व पश्चिमका लागि बर्दिबासमा र महाकाली राजमार्गका लागि डडेल्धुरामा कार्यालय स्थापना गरेर काम भइरहेको छ ।

विश्व बैंकको ८० मिलियन अमेरीकी डलर ऋण सहयोग र लाभग्राहीको ४० मिलीयन अमेरीकी डलर साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको छ । जसका लागि विश्व बैंकले १५ वर्ष विना व्याज र त्यसपछि ० दशमलव १ प्रतिशत ब्याजमा ऋण दिएको कार्यालयले जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!