- संगालोखबर सम्वाददाता

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले प्रदेश १ को नाम ‘साझा प्रदेश’ राख्न प्रस्ताव गरेका छन् । प्रदेशको नाममा धेरै तानातान भएको भन्दै उनले विवाद निम्तिएर हानाहान हुने स्थिति बन्नु भन्दा साझा प्रदेश राख्नु उपयुक्त हुँने प्रस्ताव गरेका हुन् ।

मेयर साम्पाङ्गले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रदेशको नामका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘प्रदेश नं.१ को नाम साझा प्रदेश राख्नु’ मेयर साम्पाङ्गले लेखेका छन्, ‘साह्रै तानातान भयो, हानाहान हुन अघि यो गर्नु ।’ अन्य सबै प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर, प्रदेश १ ले भने अहिलेसम्म नाम पाएको छैन । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लागेकाले अब प्रदेशको नाम टुंगो लगाउँने तयारी भइरहेको छ । जसका कारण अहिले प्रदेशको नामको विषय चर्चामा छ ।

प्रदेशको नाम एकल जातीय पहिचान वा बहुपहिचानका आधारमा राख्ने भन्ने विषय अहिले चर्चामा छ । कतिपयले जातीय पहिचान जोडेर नाम राख्नुपर्ने माग गरिरहेका छन् भने कतिपयले त्यसो गर्न नहुने तर्क गरिरहेका छन् । एकल जातीय पहिचान जोडेर नाम राख्दा विवाद सृजना हुँने भएकाले साझा नाम राख्नुपर्ने धेरैको मत छ ।

प्रदेश सभाको ठूलो दल नेकपा एमालेले सबैको अपनत्व हुने भएकाले प्रदेशको नाम ‘कोशी’ राख्नुपर्ने पक्षमा छ । कांग्रेसले ‘सप्तकोसी प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छ । कतिपयले ‘किरात प्रदेश’ राख्नुपर्ने माग गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!