- रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका–२ तीनपैनीस्थित नाङ्लो रेस्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको छ । आगोले जलेर रेष्टुरेन्ट पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट झण्डै एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Advertisement

ग्यास सिलिण्डरबाट आगो सल्कँदा दिउँसो करिब १ बजेबाट रेस्टुरेन्टमा आगलागी सुरु भएको थियो । आगो लाग्ने क्रममा करिब ६ वटा ग्यास सिलिन्डर बिस्फोट हुँदा छिटै आगो फैलिएर झण्डै आधा घण्टामै रेस्टुरेन्ट जलेर खरानी भएको प्रत्यक्षदर्शीहरू बताउँछन् । आगो नियन्त्रणमा खटिएका विराटनगरका नगर प्रहरी प्रमुख राजन पौडेलले ग्यास सिलिन्डर बिस्फोट भएकाले ठूलो आगो फैलिएर आधा घण्टामै रेस्टुरेन्ट जलेर नष्ट भएको बताए । ‘किचनमा आगो बलिरहेका बेला अर्को ग्यास सिलिन्डर फेर्ने क्रममा आगो सल्किएछ,’ नगर प्रहरी प्रमुख पौडेलले भने, ‘आगो लाग्ने क्रममा ग्यास सिलिन्डरहरू पनि पड्किएकाले छिटै आगो फैलिएर लगभग आधा घण्टामै रेस्टुरेन्ट खरानी भयो ।’

व्यस्त बजारमा भएको आगलागीका क्रममा ठूलो आवाजमा ग्यास सिलिन्डर बिस्फोट हुँदा आसपास क्षेत्रका मानिसहरू त्रसित भएका थिए । आगलागीबाट रेस्टुरेन्टका सबै सामान जलेका छन् । सिलिन्डर बिस्फोट भएर छिटै आगो फैलिएकाले कुनैपनि सामान निकाल्न नसकिएको रेष्टुरेन्टका कर्मचारीहरूको भनाई छ । तीनपैनीका ईश्वर बास्तोलाले सो रेस्टुरेन्ट सञ्चालन गरेका हुन् । त्यहाँ अधिकांश सामाग्री बाँसबाट बनाइएका थिए । बाँसका सामाग्री भएकाले पनि छोटो समयमै रेस्टुरेन्ट जलेर नष्ट भएको हो ।

आगोले छेउका दुई वटा घरमा पनि सामान्य क्षति पुगेको छ । रेस्टुरेन्टसँगै जोडिएको संघीय सांसद मोती दुगडको घरको झ्यालहरु आगोले जलेका छन् । आगोको रापले दुवै घरका झ्यालहरू फुटेका छन् । आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाका तीन वटा दमकल खटिएका थिए । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो निभाएका हुन् ।

रेष्टुरेन्टका सम्पूर्ण सामाग्री जलेर नष्ट हुँदा करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीले बताए । रेष्टुरेन्टमै राखिएको एउटा स्कुटरसमेत आगोमा जलेको छ । क्षतिको विवरण संकलन भइरहेकाले पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!