- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका उद्यमीहरुले लघु तथा घरेलु उद्यम गर्न धेरै समस्या रहेको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले बुधबार हिलेमा आयोजना गरेको उद्यमी र सरोकारवालाहरुबीच उद्योग विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुले यस्तो गुनासो गरेका हुन् ।

Advertisement

फर्निचर उद्योग व्यवसायीहरुले आवश्यक कच्चा पदार्थ ओसार्न समस्या भएको गुनासो गरे । त्यस्तै, कामदार अभाव हुदासमेत दक्ष जनशक्ति उत्पादनमा सरोकारवालाको ध्यान नपुगेको व्यवसायी अर्जुन चौलागाइले बताए । यता, ढाका उद्यमीले कच्चा पदार्थ महंगो भएका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको गुनासो सुनाए ।

उद्यमी रबिना लिम्बुले स्थानीयस्थरमा उत्पादित कपडा सरकारी कार्यालयमा प्रयोग गराउने वातावरण मिलाउँन माग गरिन् । त्यस्तै वेतवास उद्यमीले प्रविधि अभाव रहेको गुनासो गरे । बैकवाट पाइने सहुलियत कर्जा सहज रुपमा नपाउँदा उद्यम गर्न थप समस्या भएको उद्यमीहरुको गुनासो छ ।

‘उद्यमीका समस्या समाधान गर्छौ’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ्गले उद्यमीहरूको समस्या समाधान गर्दै अघि बढ्ने बताए । सो अवसरमा बोल्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले उद्यमीहरूको समस्यालाई जिल्ला उद्योग प्रवर्द्धन समन्वय समितिमार्फत समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

उनले १० देखि १५ जनाको समूह भएमा उद्यमीहरूका लागि सीपमूलक तालिम सञ्चालन गर्न सकिने जानकारी दिए । धनकुटाको औद्योगिक ग्राममा उद्योग सञ्चालन गर्ने उद्यमीहरूलाई १० लाखसम्म अनुदान पनि उपलब्ध गराइने उनले जानकारी दिए ।

कार्यक्रममा बिभिन्न क्षेत्रका उद्यमीहरू, बैंकका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!