- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ जुलाइ १२ नेपाल सम्बत ११४२ दिल्लाथ्व त्रयोदशी (विहान ७ः५६ सम्म), असार शुक्ल चतुर्दशी तिथी (विहान ७ः५६पछि), नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल चतुर्दशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, ब्रह्न योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१६ बजे, सूर्यास्त साँझ ७ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा सम्खर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २६ मिनेट १२ देखि ९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । पारिवारिक वा सामाजिक काममा व्यस्त रहँदा बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । कला वा सिर्जनासँग सम्बन्धित कामबाट प्रतिष्ठा र सम्मान पाउने दिन हो, धर्म र अध्यात्मतर्फ पनि मनको आकर्षण रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । काम गर्ने जाँगरमा कमी आउनसक्छ, मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय छ, तर काम बाँकी राख्नाले पछि आफैंलाई लोड बढ्नेछ, होस राख्नुपर्छ । मुड घरिघरि अशान्त बन्नसक्छ, योग र मेडिटेशनप्रति आकर्षित हुनु राम्रो हुन्छ, किनभने आज मिहिनेत गरेमा हरेक क्रियाकलापमा सफल बन्न सकिने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिन मनोरञ्जनपूर्ण नै हुनेछ, आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थितिसमेत बन्नेछ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पद्र्धा, खेल र तर्कमा सहभागी हुने दिन हो, झैझगडा, विवाद र प्रतियोगितामा पनि जीत हुनेछ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ, आँटेको काम सजिलै सम्पादन हुनेछ । छोराछोरीको खुसीका लागि पनि आज समय निकाल्नु बुद्धिमानी हुनेछ । तालिम, सेमिनार वा ज्ञान बढाउने विषयमा सरिक हुने र विशेष ज्ञान लिने समय छ । उता घरमा छोराछोरीका माध्यमबाट प्रसन्नता प्राप्त हुने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्तका निमित्त कुनै विशेष काम सम्पन्न हुनेछ, आपसी तालमेल र पारिवारिक सम्बन्ध सुदृढ बनाउन प्रयास गर्ने समय हो, जसबाट सुरक्षित भएको अनुभूति हुनेछ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । माइतीपक्षको शुभ समाचार प्राप्त हुनेछ । छरछिमेकीका वा सामाजिक कामका लागि पनि केही समय छुट्याउनुपर्ने हुन्छ । तर चिसोले सताउन सक्छ, होस राख्नुहोला । कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा आज सहपाठी र गुरुहरूको सहयोग लिएको राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रसन्नताका साथमा नियमित काममा सक्रिय भइने छ, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने दिन हो । सकेसम्म उचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, साथै आफ्नो रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने समय हो । जुनसुकै कुरामा ढुक्क हुने परिस्थिति छैन । हरेक काम र विषयवस्तुमा परीक्षण र निगरानी गरेर अघि बढ्नु ठीक हुन्छ । नयाँ कामको थालनी गर्न अनुकूल समय छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्नुहोला, कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । महत्त्वाकाङ्क्षाको भावना पलाउन सक्छ । कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । सिनियर्स वा अभिभावकका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता लाभप्रद बन्नेछ । राजनीति वा समाजसेवा तपाईंको कार्यक्षेत्र हो भने आज हरेक काममा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भेटघाटको समयमा व्यक्तिगत उन्नतिरप्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ, आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल मिल्नाले उत्पादनमा बृद्धि हुनसक्छ । तर हिसाबकिताव र कागजपत्र क्लियर राख्नुहोला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!