- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ जुलाइ ९ नेपाल सम्बत ११४२ दिल्लाथ्व दशमी, असार शुक्ल दशमी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल दशमी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१४ बजे, सूर्यास्त साँझ ७ः३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५८ मिनेट ८ देखि ४१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कला, साहित्य र अभिनय क्षेत्रका विद्यार्थीले बाह्य विषयवस्तुमा भन्दा निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय आएको छ । आजको दिन अवसरहरूले भरिएको राम्रो समय छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ मिल्नाले सानो प्रयासले तपाईंको कीर्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने समय हो, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पार्टनरको व्यक्तिगत स्वास्थ्यमा वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, भलाकुसारी गरी भावना साटासाट गर्नु राम्रो हुन्छ । मौसमी रोगको सामान्य जोखिम छ, सचेत हुँदै कार्यक्षेत्रमा खट्ने समय हो, व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिने छ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक वातावरण सुखमय नै रहने छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने र भविष्यमा कलहको परिस्थिति खडा हुने दिन हो । परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । बुद्धि खियाएर गरिने कामका माध्यमबाट अथवा छोराछोरी वा अनुयायीका तर्फबाट शुभताको सङ्केत छ, कुनै जमघट वा समारोहमा सहभागी बन्न सकिन्छ, मौका पर्दा दमदार भाषण ठोक्ने र ताली पाउने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । असन्तुष्टिले डेरा जमाउने दिन छ, मन एकतमासको बन्नेछ, लड्ने, चिप्लने सम्भावना पनि छ, बोल्दा पनि ख्याल राख्नुहोला, नत्र सिनियर्ससित झगडापर्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्ने दिन छ, कुनै समसामयिक विषयका बारेमा गम्भीर भएर जानकारी बटुल्न सक्नुहुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्ने दिन छ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । परीक्षा वा प्रतियोगिताका लागि तैयारी गर्न अनुकूल दिन रहेको छ । नयाँ व्यवसाय वा रोजगारीको प्रयास गर्दै हुनुहुन्छ भने आशावादी बन्ने दिन हो । ज्ञान, अनुभव वा सीपको प्रयोग गर्ने समय छ, प्रतिभा प्रदर्शन गरी वा कुनै अभिव्यक्तिगत कला प्रस्तुत गर्दै सम्मान प्राप्त गर्न सकिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । भ्रम र महत्त्वाकाङ्क्षामा अलमलिनाले चाहिंदारनचाहिंदा काम गर्ने मनसाय बन्नसक्छ । उता विपरीत लिङ्गीसँगको सम्बन्धमा समेत चिसोपन आउनसक्छ । नयाँ कामको थालनी गर्न अनुकूल समय छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्नुहोला, कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
उच्च महत्त्वाकाङ्क्षा राख्नु ठीक होइन, सानो लापरबाहीले दूरगामी भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । सबै कुरा ठीकठाक देखिए पनि भावनात्मक ढंगले कमजोरीको आभास हुनेछ । हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुनेछ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कार्यक्षेत्र वा व्यवसाय दुबै पक्षमा सबल भइने छ, कुनै कुराले चिन्तित तुल्याएको छ भने त्यसलाई आफन्त वा सहकर्मीका बीचमा सेयर गरेमा समाधानको बाटो पहिल्याउन सकिन्छ । तपाईको कार्यसम्पादनबाट सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । आम्दानीलाई स्थिर प्रयोजनमा लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, तर साँझपख बेचैनी बढ्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यर्थका कुराकानीमा समय व्यतीत गर्न मन पर्नेछ । मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल मिल्नाले उत्पादनमा बृद्धि हुनसक्छ । तर हिसाबकिताव र कागजपत्र क्लियर राख्नुहोला । दैनिक कामकाज सम्पन्न गर्न निकै धपेडी गर्ने वेला छ, कुनै काम गर्दा बाधा वा अवरोध पनि हुनसक्छ, तर दोहोर्याएर प्रयास गरेमा थालेको कामले पूणर्ता पाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ । आज कारणवश लुक्नुपर्ने वा मोबाइल स्वीचअफ गर्ने परिस्थिति सिर्जना हुनेछ । धार्मिकरसामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण आम्दानीमा कमी आउने छैन । आफन्त वा छरछिमेकको काममा केही समय खट्नुपर्ने हुन्छ । उता घरव्यवहारमा पनि निकै समय बित्नसक्छ । तर पनि बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विशेष गरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउने दिन हो, आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय आफैंले भोग्ने परिस्थिति बनेको छ । मानसिक संवेगको उतारचढावले लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनुपर्दा मन निराश बन्ने समय हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!