ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए ।

Advertisement

गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिइन् । उनले भनिन्, “एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक रु २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।” सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फार्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए। गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अति विपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पुर्‍याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!