- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागुऔषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रममा मन्त्री कार्कीले लागु पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताएका हुन् ।

Advertisement

‘प्रदेश सरकार लागु पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लागि परिरहेको छ, सबै सँगको समन्वयमा यो सम्भव पनि छ । उनले भने, आन्तरिक मामिला मन्त्रालयले पुनः स्थापना केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूसँग समन्वय गरिरहेको छ ।’

खास गरी किशोर, किशोरी समूहमा विद्यार्थी लागु औषधको अवैध प्रयोगकर्ता बढी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसलाई रोक्नका लागि पनि विद्यार्थीले नै भूमिका खेल्नुपर्ने बताए । ‘एउटा विद्यार्थी घरपरिवार भन्दा बढी साथीसँग नजिक हुन्छ भने, उ कुलतमा फस्न लाग्दा साथीले नै रोक्न सक्छ, उनले भने, त्यसका लागि मन्त्रालयले चाँडै कल सेन्टरको स्थापना गर्छ, प्रहरीका इकाईहरू छन् त्यहाँ पनि खबर गर्न सक्नु हुनेछ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तीनै तहका सरकार लागु पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लाग्नुपर्ने बताए । नवज्योति पुनः स्थापना केन्द्रका अध्यक्ष सुशील रिजालले पुनर्स्थापना केन्द्रमा काम गर्नेहरूले दिनरात नभनी काम गरिरहेको बताएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला, कोसी अस्पतालका प्रमुख डा.यज्ञराज खरेल, सुरक्षा निकायका प्रतिनिधि, पुनः स्थापना केन्द्रका प्रतिनिधि, विभिन्न क्याम्पसका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!