संगालोखबर संवाददाता

भीमदत्तनगर ।  सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागारमा पठाइएको छ ।

जिल्ला अदालत कञ्चनपुरले अभियुक्त श्रेष्ठलाई रु २५ लाख धरौटीमा छाड्न आदेश दिएपछि श्रेष्ठले धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार अभियुक्त श्रेष्ठलाई धरौटीमा छाडे पनि भन्सार ठगीमा कारबाहीका लागि समेत राय उक्त मुद्दामा पेश गरिएको छ ।

‘रु २५ लाख तिर्न नसकेर पूर्पक्षका लागि श्रेष्ठ कारागार पुगे ।’ प्रहरी स्रोतले भन्यो–‘धरौटी बुझाएर छुटेपनि भन्सार कार्यालयले कारबाही चलाउँछ ।’

अभियुक्त श्रेष्ठले भारतबाट चोरीका सवारी साधन आयात गरी भीमदत्तनगर र धनगढीमा रहेका महाकाली एंव सेती अञ्चल यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका थिए ।

श्रेष्ठले किर्ते गरी किनबेच गरेका नौ थान जिप÷कार र ३६ वटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेका छन् । बरामद गरिएका ती सबै सवारी साधन आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अभियुक्त श्रेष्ठबाट सवारी साधन खरिद गर्नेहरु भने पीडित बनेका छन् । खरिदकर्ताहरुको लाखौं रकम डुबेको छ । भन्सार लिलाम कागजात किर्ते लगायतका कागजात बनाएर सवारी साधन दर्ता गरी बिक्री गर्दै आएका श्रेष्ठबारे सवारी साधन अञ्चलीकरण गर्ने क्रममा सोको रहस्य बाहिर आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement