खोटाङ । हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दै आएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनको बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाति हरि खड्का पक्राउ परेका हुन् ।
घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलीगुढीबाट मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले खड्का पक्राउ परेको पुष्टि गरे पनि थप अनुसन्धानपछि यथार्थ सार्वजनिक गर्ने जनाएको छ ।
तुलसा वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदान गर्न भन्दै वैशाख २६ गते नातिसँग सुनसरीबाट खोटाङतर्फ गएकी थिइन् । तर, मतदानका लागि हिँडेकी वृद्धाको शव वैशाख ३१ गते खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो ।
बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको जेठ २ गते सदगद् गरिएको थियो । दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरेको भतिजी लक्ष्मी खड्काले बताइन् । गत जेठ १८ गते उनको सनाखत भएको थियो ।
जेठ १० गतेसम्म सम्पर्कमा रहेका अभियुक्त जेठ १३ गतेदेखि सम्पर्कविहीन बनेका थिए । हजुरआमाको हत्या गरेको भन्दै नातिविरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता भएको थियो । पारिवारिक बेमेल र हिंसापीडित वृद्धालाई भतिजी लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिइन् ।
शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि विभिन्न दलका उम्मेदवारले गाडीको व्यवस्था गरेका थिए । लक्ष्मीले ठुलीआमालाई यस्तै प्रायोजित गाडीमार्फत गाउँ गएर मतदान गर्न जान र फर्कन सुझाएका थिए । तर, आफू बिहेमा गएको बेलामा वृद्धालाई मतदान गर्न गाउँ लैजाने वहानामा बेपत्ता पारेको लक्ष्मीको दावी छ । मतदानका लागि सँगै गएकी हजुरआमा बेपत्ता भएपछि आफन्तहरूले नातिमाथि शंका गरेका थिए । त्यसपछि नाति बेपत्ता भएका थिए ।