- रबिन कटेल/संगालोखबर

विराटनगर । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न सोमबार विराटनगरको राजवंशी चोकमा निस्किएका यातायात व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले यातायात व्यवसायीलाई लछारपछार पार्दै गाडी पन्छाएर सडक खुलाएको हो ।

Advertisement

प्रहरीले हातपात गरेपछि आक्रोशित बनेका व्यवसायी र प्रहरीबीच केही समय घम्साघम्सीसमेत भयो । मूल्यवृद्धिको विरोधमा कोशी राजमार्गमा गाडी तेस्राएर बसेका यातायात व्यवसायीलाई प्रहरीले हटाएर यातायात सुचारु गर्ने क्रममा घम्साघम्सी भएको हो । नेपाल आयल निगमले सोमवारवाट लागू हुनेगरि डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँका दरले मूल्य वृद्धि गरेपछि व्यवसायीहरू आक्रोशित बनेर चक्काजाममा उत्रिएका हुन् ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ रुपैयाँ पर्न थालेको छ । सरकारले अत्याधिक मूल्यवृद्धि गरेर समस्यामा पारेको भन्दै म्याजिक गाडी व्यवसायीहरूको अगुवाइमा बिहान करिब ७ बजेबाट सडक अवरुद्ध गरिएको थियो ।

निगमले मध्यराति पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विरोध गर्दै बिहानै व्यवसायीहरू सडकमा उत्रिएका हुन् । उनीहरूले राजवंशी चोक र दूध फारम अगाडि सडकमै म्याजिक गाडी तेस्राएर केही समय सवारी आवतजावत ठप्प पारे । जसका कारण विराटनगरबाट इटहरी लगायत अन्य क्षेत्रमा जाने र त्यहाँबाट विराटनगर आउँने दर्जनौं सवारी साधन रोकिएर बसेका थिए । चक्काजामका कारण राजमार्गमा यातायात ठप्प भएपछि प्रहरीले बल प्रयोग गरेर बन्द खुलाउने क्रममा प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको हो । बन्द खुलाउने क्रममा प्रहरीले व्यवसायीहरूलाई लछारपछार पनि गरेको थियो । केही व्यवसायीहरूमाथि प्रहरीले हातपात गरेको भन्दै व्यवसायीहरू आक्रोशित भए । सोही क्रममा उनीहरूले प्रहरीविरुद्ध नारा पनि लगाए ।

म्याजिक व्यवसायी श्यामबहादुर निरौलाले प्रहरीले आफूसहित केही व्यवसायीहरूमाथि बिनाकारण हातपात गरेको गुनासो सुनाए । मूल्यवृद्धिको विरोध गर्दा प्रहरीले ज्यादती गरेको भन्दै स्थानीय दिपेन्द्र लामाले पनि आक्रोश पोखे । यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले सम्झाई बुझाई गर्दा नमानेपछि बल प्रयोग गरेर सडक खुलाइएको प्रतिक्रिया दिए । सडक खुलाउने क्रममा प्रहरीले ६ जना व्यवसायीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई दिनभर राखेर अपरान्ह छोडिएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

यसैबीच, विराटनगरमा सोमवार अटोरिक्सा चालकहरूले पनि मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । महेन्द्र चोकमा भेला भएका उनीहरूले प्लेकार्ड बोकेर बजारमा प्रदर्शन गरे । मूल्यवृद्धिका कारण अटोमा तेल हाल्न कसेको व्यङ्ग्य गर्दै उनीहरूले अटो ठेल्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालयमा पनि ज्ञापनपत्र बुझाएका छन् । तेलको मूल्य बढ्दा यात्रा महंगो पर्ने र यात्रुले बढी पैसा तिर्न नमान्ने भएकाले समस्या सृजना भएको उनीहरुको भनाई छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!