- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाबाट अनुदानका बोका–बाख्रा रातारात वितरण गरिएको छ । आइतवार राती करिब ९ बजेदेखि १० बजेसम्म बोका–बाख्रा वितरण गरिएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ ।

Advertisement

नगरपालिकाले किसानलाई बोका–बाख्रा अनुदानमा दिनका लागि बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट खरिद गरिएका दर्जनौं बोका–बाख्रा रातारात वितरण गरिएको हो । बोका–बाख्रा बाँढ्न मेयर ज्ञानबहादुर गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, पशु शाखाका अधिकृत गोरख तामाङ्ग लगायत खटिएका थिए । सरकारी अनुदानमा वितरण गरिने बोका–बाख्रा रातारात वितरण गरेर आर्थिक अनियमितता गर्न खोजिएको जनप्रतिनिधिहरुकै आशंका छ ।

नगरपालिकाकी उपमेयर नम्रता गौतमले राती वितरण नगरौँ भन्दा नमानेर बाख्रा बोका बाढिएको भन्दै असन्तुष्टि जनाइन् । ‘सही हिसाबले बाढ्ने भए रातारात बाख्रा–बोका बाढ्नुपर्ने कुनै आवश्यकता थिएन, मैले भोलि बिहान बाँढौ भन्दा नमानेर रातारात बाढियो,’ संगालोखबरसँग गौतमले भनिन्, ‘यसले मिलेमतोमा केही अनियमितता भएको आशंका उब्जाएको छ ।’

यता, नगरपालिकाका आर्थिक विकास समिति संयोजक सरोज राईले अनुदानको बोका–बाख्रा वितरण गर्ने प्रकृया पनि उल्लंघन गरिएको आरोप लगाए । ‘अनुदानमा बाँढ्नका लागि कृषकको छनौट गर्ने आर्थिक विकास समितिको क्षेत्राधिकार हो, म संयोजक हो, मलाई जानकारी नै छैन,’ राईले भने, ‘मनोमानी गरेर रातारात बाख्रा–बोका बाढियो, यसमा आर्थिक अनियमितता भएको हाम्रो ठहर छ ।’ थोरै मूल्य पर्ने बाख्रा बोकालाई बढी मूल्यको देखाएर ल्याइएको हुँनाले रातारात बाढेर अनियमितता गर्न खोजिएको नगरपालिकाकै एक कर्मचारीले आरोप लगाए ।

यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले टाढाबाट ल्याइएको बाख्रा बोका भोकै रहेको र कृषकहरू पनि कुरेर बसेकाले राती नै भएपनि वितरण गरिएको प्रतिक्रिया दिए । यो विषयमा जानकारीका लागि पटक–पटक सम्पर्क गर्दा पनि मेयर गुरुङ्गको फोन उठेन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!