- रबिन कटेल/संगालोखबर

विराटनगर । साविकको शनिश्चरे गाविसका पूर्व प्रधानपञ्च जितबहादुर गिरीले आफूमाथि अंगभंग हुनेगरि कुटपिट हुँदा पनि प्रहरीको असहयोगका कारण न्याय नपाएको गुनासो गरेका छन् । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरेर पूर्व प्रधानपञ्च गिरीले कुटपिटमा संलग्न आफ्नै भाइ हरीबहादुरसहित इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका डीएसपी वेदप्रसाद गौतमलाई पनि कारबाहीको माग गरेका हुन् ।

Advertisement

पीडितलाई न्याय दिलाउन सहयोग गर्नुको सट्टा डीएसपी गौतमले पीडकलाई बचाउँन लागिपरेको आरोप लगाउँदै उनले डीएसपी गौतमलाई पनि कारबाही गर्न माग गरे । जितबहादुरका अनुसार गत बैशाख २४ गते उनका भाई हरीबहादुरले पथरीशनिश्चरे–४ स्थित चोकमा उनीमाथि कुटपिट गरेका हुन् । ६४ बर्षीय जितबहादुर विराटनगर–३ र उनका भाई ५१ बर्षीय हरीबहादुर पथरीशनिश्चरे–४ मा बसोवास गर्दै आएका छन् । राप्रपामा आवद्ध जितबहादुर चुनावी अभियानका क्रममा गाउँ पुगेका बेला आफूमाथि कुटपिट भएको बताउँछन् । १० वर्षअघि अदालतले छिनोफानो गरेको अंशबन्डाको विषयको रिसिइवीलाई लिएर विना गल्ति आफूमाथि भाइले निर्घात कुटपिट गरेको उनको आरोप छ । रड, चिर्पट र इँटा प्रहार गरेर कुटपिट गर्दा आफ्नो देब्रेपट्टिको ३ वटा करङ भाँचिएको, दाहिने हातको कुमको हड्डी खुस्किएको र दाहिने खुट्टाको घुँडाको नसा च्यातिएको उनी बताउँछन् ।

घटना भएको एक सातापछि उनी उजुरी लिएर इलाका प्रहरी कार्यालय पथरीशनिश्चरे पुगेका थिए । तर, प्रहरीले उनको उजुरी लिन मानेन । उनले आफूलाई न्याय दिन प्रहरीले असहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा पनि निवेदन पठाएका थिए । जिल्ला प्रहरी कार्यालयले आवश्यक कारबाही प्रकृया अघि बढाउँन भन्दै इप्रका पथरी शनिश्चरेलाई पत्र पठाउँदा पनि डीएसपी गौतमले त्यसलाई नटेरेको उनको भनाई छ । अन्ततः सरकारी वकिलको कार्यालयमार्फत प्रहरीमा उजुरी दर्ता गर्नुपरेको उनले गुनासो गरे ।

तर, उजुरी दर्ता भएर पनि प्रहरीले पीडकलाई पक्राउ गरेर कारबाही गर्नुको सट्टा उल्टै उसको बचाउमा लागेको उनको आरोप छ । ‘प्रहरीले अन्यायमा परेको मान्छेलाई न्याय दिन पहल गर्नुपर्ने हो, पथरीशनिश्चरेका डीएसपी उल्टै पीडकलाई बचाउँन लागिपरेका छन्,’ जितबहादुरले भने, ‘मलाई विना कारण कुटपिट गर्नेमाथि अहिलेसम्म पनि कारबाही भएन, कुटपिट गर्ने र उसलाई बचाउँने डिएसपीलाई पनि कारबाहीको दायरमा ल्याउन माग गर्न चाहन्छु ।’

यता, उनका भाई हरीबहादुर आफुले दाजुलाई कुटपिट गरेको नभई दाजुले नै आफूमाथि हातहालेपछि झगडा भएको दावी गर्छन् । ‘भाइमाथि अन्याय गर्छौ, आमा पाल्न सक्दनौं, अनि के गाउँको विकास गर्छु भन्दै चुनावमा हिड्छौं भनेर मैले भनेको थिए,’ हरीबहादुर भन्छन्, ‘त्यसपछि दाजुले मलाई हेल्मेटले हाने, अनि सामान्य झगडा मात्र भएको हो ।’ दाजुलाई रड, चिर्पट प्रहार नगरेको उनको दावी छ । दाजुले करङ भाँचिएको भनेर भ्रम फैलाएको उनले बताए । आफूलाई जर्मन पठाउँने आश्वासन दिएर पुर्ख्यौंली सम्पत्ति बेची दाजुले छलकपट गरेको र पटक–पटक परिवारलाई मुद्दा मामिला गरेर सताइरहने गरेको उनको आरोप छ । दाजुबाट आफ्नो परिवार पीडित बनेको हरिबहादुर बताउँछन् ।

यता, इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका डीएसपी गौतमले रितपूर्वक उजुरी नआएकाले सुरुमा उजुरी नलिएको बताए । पछि रितपूर्वक आएपछि उजुरी दर्ता गरेर कारबाही प्रकृया अघि बढाइएको जानकारी दिदै उनले हरीबहादुरविरुद्ध एक हप्ता अघि नै पक्राउ पुर्जी जारी भएको जानकारी दिए । तर, गाउँमा नभेटिएकाले हरीबहादुर पक्राउ नपरेको उनको तर्क छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!