- रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउँन अधिग्रहणका लागि सरकारले रोक्का गरेको जग्गाको मुआब्जा नपाएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । जग्गा रोक्का गरेको १४ महिना वितिसक्दा सम्म पनि मुआब्जा नपाएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

Advertisement

विराटनगर विमानस्थल पीडित संघर्ष समितिको अगुवाईमा उनीहरुले सोमबार विराटनगरमा विरोध प्रदर्शन गरे । पीडितहरुले प्रदेश १ को मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई माग संवोधनका लागि एक हप्ताको अल्टिमेटमसहितको ज्ञापनपत्र पनि बुझाएका छन् । रोक्का गरिएको जग्गाको मुआब्जा वा जग्गा फुकुवा गरिनुपर्ने उनीहरुको माग छ । एक हप्तासम्म पनि माग संवोधन नभएमा सडक आन्दोलनमा उत्रने र विमानस्थलको आवागमन पनि ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् ।

विरोध स्वरुप कालो व्यानर र हात–हातमा प्लेकार्ड बोकेर निस्किएका उनीहरुले बजारमा जुलुश प्रदर्शन गरे । उनीहरुले मुआब्जा वा जग्गा फुकुवाको माग मात्रै गरेनन् पर्यटन मन्त्री प्रेम आलेको राजीनामासमेत माग गरे । ‘रोक्का रहेको जमिनकोे मुआब्जा दे, नभए जग्गा फुकुवा गर, निजगढ विमानस्थलको ६ अर्ब विराटनगरलाई दे, विराटनगरको विकास विरोधी मन्त्री प्रेम आले राजीनामा दे’ लगायत नारा लगाउँदै उनीहरुले बजारमा प्रदर्शन गरे । ‘विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउँनै पर्छ, विराटनगरलाई छैंठौं हैन पहिलो शहर बनाऔं, आन्दोलन हाम्रो रहर हैन वाध्यता हो’ जस्ता नारा पनि लगाए ।

जुलुशसहित जिल्ला प्रशासन कार्यालय पुगेका पीडितहरुले प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाए । संघर्ष समितिका संयोजक वेदराज पौडेलसहितको टोलीले प्रजिअ दाहाललाई ज्ञापनपत्र बुझाउँदै माग संवोधनका लागि पहल गर्न आग्रह गरे । सो क्रममा प्रजिअ दाहालले विमानस्थल पीडितको माग जायज भएको भन्दै माग सुनुवाईका लागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यहाँबाट उनीहरु पुनः बजारमा चर्को नारा लगाउँदै मुख्यमन्त्री कार्यालय पुगे । मुख्यमन्त्रीलाई नभेटेपछि उनीहरुले मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जीवन राई र जनसम्पर्क सल्लाहकार वासिम आलमलाई संयुक्त रुपमा ज्ञापनपत्र थमाए । मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि पनि उनीहरुले केही समय नारावाजीसहित प्रदर्शन गरेका थिए ।

सरकारले विराटनगर विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीय स्तरको बनाउन भन्दै २०७७ चैत २३ र २४ गते पत्रिकामा जमिन अधिग्रहणको सूचना प्रकाशित गरेर सो क्षेत्रको जमिन जिल्ला प्रशासन कार्यालय मोरङमार्फत रोक्का गरियो र मुआब्जाको दावीसहित कागजात लिएर आउन भनियो । सोही बमोजिम उनीहरुले विमानस्थल कार्यालयलाई कागजपत्र पनि बुझाए । सो क्रममा विमानस्थल आसपास क्षेत्रका ३५० परिवारको १२६ दशमलव ४६ विगा जग्गाको १४०० कित्ता जग्गा रोक्का गरिएको छ । तर, हालसम्म पनि उनीहरुले आफ्नो जग्गाको मुआब्जा पाएका छैनन् ।

जग्गा रोक्का भएर त्यसै बस्दा जग्गाको अंशवण्डा, बैंकमा धितो राखेर रकम निकाल्न, धितोपास, नामसारी, घर निर्माण लगायत काममा अवरोध सृजना भएको पीडित संघर्ष समिति संयोजक पौडेलले बताए । ‘संविधानले प्रदान गरेको नीजि सम्पती उपयोगको अधिकारबाट समेत बन्चित बन्नु परेको छ,’ पौडेलले भने, ‘माग संवोधनका लागि हामीले ७ दिनको अल्टिमेटम दिएका छौं, असार ५ गतेसम्म बाटो हेछौं र पनि माग पुरा भएन भने सडक आन्दोलन गछौं, एयरपोर्टको निषेधित क्षेत्रमा पसेर प्लेन आवागमन पनि रोक्छौ ।’

विरोध प्रदर्शनमा सहभागि पीडित सञ्जु शर्माले सरकारले मुआब्जा पनि नदिने र जग्गा फुकुवा पनि नगर्दा छोराछोरी पढाउन, विहेदान गर्न, ब्यापार व्यावसाय गर्नबाट बञ्चित बन्नुपरेको गुनासो गरिन् । अर्का स्थानीय वेदप्रसाद पौडेलले सरकारले नटेरेमा विमानस्थलको धावनमार्गमा सयौं मान्छे पसेर अनसन बस्ने चेतावनी दिएका छन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!