राजविराज। सप्तरीको राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन् ।

बेपत्ता भएका ६० वर्षीय यादवलाई उद्धार गर्नका लागि त्यहाँ पुगेका सुरक्षाकर्मीको टोलीले आज बिहान पनि खोजी कार्य जारी राखेको बताइएको छ ।

पूर्वी पहाडी भेगमा परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले देउरी भरुवाको बाँध कटान गरिरहेको अवस्थामा बाँधलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीसँगै गएका यादव ढिस्कोमा पुरिएर बेपत्ता भएका थिए ।

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यका लागि घटनास्थलमा पुगेको थियो ।

त्यस्तै, सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, गोदावरीबाट थप सुरक्षाकर्मी उद्धारका लागि मगाइएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए ।

यस्तै, खाँडो नदीमा आएको बाढीले राजविराज–१० स्थित बिरोल र राजविराज–१५ को देउरीभरुवा गाउँमा पनि कटान गरेको छ ।

सो नदीको पानीको बहावले गाउँमा पानी पस्दा सप्तरीको दक्षिणी र पूर्वी भेगका राजविराज, बिरोल, डुमरी शिवथान, कजोली, दिघवा, तोपा, मनसापुर, सकरपुरा, लोनिया, तिलाठी लगायत स्थानका करिब ४०० घर डुबानमा परेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!