- रबिन कटेल/संगालोखबर

विराटनगर । सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेट तथा नीतिका कारण उद्योगहरू बन्द हुँने अवस्था सृजना भएको भन्दै मोरङका उद्योगी व्यवसायी र मजदुरले बिहीबार विरोध प्रदर्शन गरेका छन् । स्टिल तथा वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याड उत्पादन गर्ने उद्योग बन्द हुने गरी गरिएको भन्सार दर हेरफेरको नीति सच्याउन माग गर्दै उनीहरूले बुढिगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा प्रदर्शन गरेका हुन् ।

ब्यानर, प्लेकार्ड र कालोपट्टी बाँधेर गोकुवा चोकमा सयौँको सङ्ख्यामा भेला भएका उद्योगी व्यवसायी र मजदुर विरोध प्रदर्शन गर्दै निमुवा प्रहरी चौकी नजिक पुगे । त्यहाँबाट फर्किएर पुनः गोकुवा चोकमा आएका थिए । प्रदर्शनका क्रममा उनीहरूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा पनि माग गरेका छन् । ‘जनताको करले सीमित उद्योगी पोस्न पाइँदैन, बजेट भाषण संशोधन गर, अर्थमन्त्री राजीनामा दे, निर्यातको अन्तशुल्क फिर्ता गर, कच्चा पदार्थमा अन्तशुल्क लिन पाइदैन’ जस्ता नारा लगाउँदै उनीहरूले प्रदर्शन गरे । ‘टेम्प्रेचर मिटरको कालोबजारी गर्नेलाई पोस्न बन्द गर, ढुकुटीको डलर लुटाउन पाइदैन’ जस्ता नारा पनि लगाए ।

आधा सडक ढाक्नेगरी कालो ब्यानर बोकेर उनीहरूले विरोध जुलुस प्रदर्शन गरे । सडक ढाक्नेगरी उद्योगी तथा मजदुरहरू उत्रदा राजमार्गमा एकतर्फ सवारी आवतजावत अवरुद्ध भएको थियो । उनीहरुले केही समय सडकमै बसेर पनि विरोध जनाए । प्रदर्शनमा हुलास वायर, कमला स्टिल र पायनर केवुलका उद्योगी तथा मजदुर बढी सहभागि थिए । जुलुस निमुवा प्रहरी चौकी नजिक पुगेर पुनः गोकुवा चोकमा आई कोणसभामा परिणत भयो ।

सभालाई सम्बोधन गर्दै हुलास वायरकी निर्देशक युक्ति गोल्छाले सरकारले उद्योगहरुबीचनै विभेदकारी नीति लिएको आरोप लगाइन् । उनले एउटा स्टील उद्योगलाई पोस्नका लागि अन्य उद्योगलाई मारमा पारेको भन्दै यसको विरुद्धमा सडकमा आउँनु परेको बताइन् । ‘सरकारले एउटा उद्योगलाई मात्र संरक्षण गर्न र पोस्न मिल्छ ?,’ प्रश्न गर्दै उनले भनिन्, ‘कि त अरु सबै उद्योग बन्द गर्नु भनेर सरकारले भन्न सक्नुपरो, हैन भने सबैलाई समान हिसावले संरक्षण गर्नुपरो ।’

सरकारको विभेदकारी नीतिका कारण गत बर्ष २० वटा उद्योग बन्द भएको दावी गर्दै उनले त्यसमा उद्योगीको लगानी डुब्दा र हजारौं मजदुरले रोजगारी गुमाउँदा सरकार उनीहरुप्रति लापरबाह बनेको आरोप लगाइन् । सभालाई पायनर केवुलका अनिल सारडा र हुलास वायरका मुकेश कोठारीले पनि सम्बोधन गरेका थिए । उनीहरूले बजेटमा गरिएको अन्यायपूर्ण र विभेदकारी नीति तत्काल सच्याउन माग गरे । सरकारले जगदम्बा स्टिल उद्योगलाई प्रोत्साहन गर्ने र अन्य स्टिल उद्योगलाई मारमा पार्ने काम गरेको उद्योगीहरूको बुझाई छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि जेठ १५ गते सार्वजनिक गरेको बजेट तथा नीतिबाट स्टिल तथा वायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ एमएस वायर रड आयातमा भन्सार दर र अन्तशुल्क बढाएको छ । जसका कारण कच्चा पदार्थ विदेशबाट ल्याएर नेपालमा जीआई वायर उत्पादन गर्नुभन्दा विदेशबाटै तयारी वायर ल्याउँनु सस्तो पर्ने अवस्था सृजना भएको उद्योगीहरु बताउँछन् । सोही कारण नेपाली स्टिल तथा वायर उद्योग संकटमा परेको उनीहरुको भनाई छ ।

यता, बनस्पती घ्यूतेल उद्योग र सेनीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योग पनि भन्सार दर हेरफेरका कारण संकटमा छन् । नेपाली उद्योगलाई संकटमा पार्ने र विदेशी उत्पादन आयात बढाउँने गरी सरकारले नीति ल्याएको भन्दै उद्योगीहरु आन्दोलनमा उत्रिएका हुन् । उद्योग बन्द हुँदा रोजगारी गुम्ने भन्दै उनीहरुलाई मजदुरले पनि साथ दिएका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा माग संवोधनका लागि सरकारलाई दवाव दिन उद्योगीहरुले चक्काजाम गर्ने उद्घोष गरेका थिए । तर, चक्काजाम गर्दा सर्वसाधरणलाई मार पर्ने ठहर गर्दै आन्दोलन परिमार्जन गरेर प्रदर्शन गरिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

सरकारको ध्यानाकर्षण गराउँने निर्णय

यसैबीच, बिहीबार जिल्ला प्रशासन कार्यालयमा उद्योगहरुका संगठन, मजदुर संगठन र सरोकारवाला निकायसहितको बैठक बस्यो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष रिजाल लगायत सहभागि थिए ।

बैठकले उद्योगहरुको समस्या समाधानका लागि सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँने निर्णय गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!