सर्लाही । यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो । एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् ।

Advertisement

खर्चिलो र निकै मिहिनेतले उत्पादन हुने गोलभेडा बेचेर लागतसमेत उठाउन नसकेको किसानको गुनासो छ ।  किसान बिन्देश्वर महतोले गोलभेडा बेचेर टिप्ने र ढुवानी गर्ने खर्चसमेत नपुगेको बताए । ‘खेतमै जानु बेकार भइसक्यो,’ उनले भने, ‘टिप्ने र ढुवानी गर्नेलाई दिन पनि पुग्दैन ।’ यस वर्ष सुरुदेखि नै गोलभेडाले भाउ पाएन । रोप्ने बेला असोजमा पानी परेर यस वर्ष उत्पादन नै ढिला भएको थियो ।

भारतीय गोलभेडा बजारमा आएपछि स्थानीय उत्पादन सुरुदेखि नै सस्तो हुन पुगेको उनले बताए । किलोको ५० रुपैयाँसम्म सजिलै बिक्री हुने गोलभेडा सस्तिएर किलोको २ रुपैयाँमा झरेको छ । सर्लाहीबाट दैनिक १ लाख किलोभन्दा बढी गोलभेडा काठमाडौंलगायतका ठूला सहरमा पुग्छ ।

गोलभेडाको भाउ घट्दा किसानलाई दैनिक लाखौं घाटा हुन्छ । ‘किलोमा एक रुपैयाँ घट्दा पनि किसानले पाउने रकममा १ लाख घाटा हुन्छ,’ महतोले भने, ‘हजारौं किसानको रोजीरोटी र जीवनसँग जोडिएको खेती हो । उल्टै घाटा खाएपछि त किसान टाट पल्टिने अवस्था आयो ।’ गोलभेडाका थोक व्यापारी रामदरेश चौधरीले भारतीय उत्पादन भित्रिएका कारण नै यस वर्ष भाउ बिग्रिएर किसानलाई घाटा भएको बताए । ‘भारतीय गोलभेडाले नै बजारमा भाउ घटायो,’ उनले भने, ‘यस वर्ष किसानलाई गोलभेडा खेतीबाट निराशा मात्र हात लाग्यो । लगातार भाउ घटेकाले व्यापारी पनि घाटामा परे ।’

सिँचाइ सुविधा नभए पनि जिल्लाका उत्तरी भेगमा ठूलो परिमाणमा गोलभेडा खेती हुन्छ । गोलभेडा खेतीले किसानको जीवनस्तर उकासेको थियो । यस वर्ष भाउ घटेपछि किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । नवलपुरका व्यापारी शम्भु चौधरीले व्यापार सुरु गरेको १३ वर्षमा पहिलोपल्ट गोलभेडा यति सस्तो भएको बताए । ‘किसान र हामी व्यापारी पनि घाटामा परेका छौं,’ उनले भने । उनले भारतीय गोलभेडा भित्रिन रोक्नुपर्ने सुझाए । कान्तिपुर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!