काठमाडौं । काठमाडौंको किर्तिपुर नगरपालिका–४ मा मंगलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । किर्तिपुर नगरपालिका वडा नंम्बर ४ र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरेको हो ।
शिविर स्थानीय ग्रिनलेन्ड सेकेण्डरी स्कूलमा सञ्चालन गरिएको छ । शिविरमा केएमसीका डाक्टरहरुले ११३३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये २३७ जनाको रक्त परीक्षण, १९२ जनाको भिडियो एक्सरे र १२४ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार दाँतमा समस्या भएका ३७ जनाको दाँत खोलिएको छ । त्यस्तै जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।
केएमसीले यसअघि आइतवार काठमाडौंकै गोठाटारमा शिविर सञ्चालन गरेर ९२१ जनाको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्मा भित्रिएसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ ।