- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नं. १ को आज बसेको प्रदेश समन्वय परिषद बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषदको बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो ।

Advertisement

नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको हो । नियमित बैठकका रुपमा यो चौथो बैठक हो ।

प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद गठन हुने कानूनी व्यवस्था छ । परिषदमा हरेक जिल्लाबाट एक जना हुनेगरी स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट कम्तिमा एक तिहाइ महिलाको प्रतिनिधित्वसहित १४ जना सदस्य मुख्यमन्त्रीले मनोनित गर्ने कानूनी प्रबन्ध छ । परिषदमा प्रदेशस्थित आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानून मन्त्री पदेन सदस्य रहने प्रावधान छ ।

प्रदेश समन्वय परिषदमा मोरङको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, इलामको सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राई, खोटाङको ऐसेंलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथकुमार कलुङ राई, ओखलढुंगााको खिजिदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, सुनसरीको इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरी, धनकुटाको छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता गुरुङ, पाँचथरको फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष सविता राई र ताप्लेजुङको मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाप्राद श्रेङचङवाङ सदस्य मनोनित भएका छन् ।

बैठकमा मुख्यमन्त्री राईले नयाँ मनोनित सदस्यहरूलाई बधाई तथा शुभकामना दिए । बैठकमा समन्वय परिषदका सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० मा प्रस्तुत हुने नीति तथा कार्यक्रमका सम्बन्धमा पनि आफ्नो राय सुझाव दिएका थिए । बैठकमा परिषद्को पदेन सदस्यको रुपमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहदुर आङ्बो, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसहित दुबै मन्त्रालयका सचिव र प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको सहभागिता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!