- रबिन कटेल/संगालोखबर

विराटनगर । प्रदेश १ का अग्रज चार पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रदेश १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले शुक्रबार विराटनगरमा कार्यक्रम गरेर धनकुटाका पत्रकारद्वय सञ्जयसन्तोषी राई र स्मिता निरौला, सुनसरीका कृष्णविनोद लम्साल र झापाका लिला बराललाई पुरस्कृत गरेको हो ।

Advertisement

उनीहरूलाई जनही एक लाख राशिको पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे, प्रदेश १ का प्रमुख सचिव डा.रामप्रसाद घिमिरे, सञ्चार मन्त्रालयका सचिव ईश्वरकुमार गिरी लगायतले फुलमाला, दोसल्ला लगाई सम्मानपत्र र चेक प्रदान गरेर पुरस्कृत गरे ।

प्रदेश १ मा रहेर निष्पक्ष, उत्तरदायी र व्यवसायिक पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गराउँने कार्यमा योगदान पुर्याए बापत प्रदेश सरकारले हरेक बर्ष पत्रकारहरूलाई पुरस्कृत गर्दै आएको छ । यसअघि यो पुरस्कारबाट प्रदेश १ का आठ पत्रकार पुरस्कृत भइसकेको पत्रकार महासंघका प्रदेश महासचिव विवेक गौतमले जानकारी दिए । उनका अनुसार हरेक वर्ष दुई/दुई पत्रकारलाई पुरस्कृत गरिदै आएको थियो ।

यो वर्ष भने चार पत्रकारलाई पुरस्कृत गरिएको हो । चार मध्ये सुनसरीका पत्रकार लम्साल भने कार्यक्रममा सहभागि थिएनन् । पुत्र शोकका कारण उनी उपस्थित नभएपनि कार्यक्रममा उनलाई पुरस्कृत घोषणा गरियो । २०४३ सालबाट पत्रकारिता थालेका धनकुटाका पत्रकार राई अहिले पनि पत्रकारिता पेशामा सक्रिय छन् । धनकुटाकी निरौला पनि जनयुद्धकालदेखि पत्रकारिता थालेर व्यावसायिक पत्रकारिता गरिरहेकी छन् ।

सुनसरीका निरौला ७३ वर्षको उमेरमा पनि पत्रकारितामा सक्रिय छन् भने झापाका बराल पनि लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध छन् । उनीहरूले पत्रकारिता पेशामा पुर्याएको योगदानको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयका सचिव ईश्वरकुमार गिरीले जानकारी दिए ।

प्रतिपक्षी दलभन्दा सञ्चार क्षेत्र तगडा: मुख्यमन्त्री राई

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सरकारलाई घचघच्याउन प्रतिपक्षी दल भन्दा पनि सञ्चार जगतको भूमिका बढी हुने बताए । राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सञ्चार जगतले त्यसलाई मूल्यांकन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँन  मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव डा.घिमिरे र पत्रकार महासंघका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेले पुरस्कृत पत्रकारहरूलाई मन्तव्य मार्फत बधाई दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!