- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ परिचयमोड नजिक गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नासल चौकबाट परिचयमोडतर्फ जाँदै गर्दा मे ६ प १७५६ नम्बरको मोटरसाइकल राती करिब २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी मोटरसाइकल चालक संखुवासभाको खाँदवारी नगरपालिका १० घर भई धनकुटा–६ मा डेरा गरेर बस्दै आएका २४ बर्षीय पुरन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले संगालोखबरलाई जानकारी दिए । भीमनारायण चौक नजिक डेरा बस्दै आएका राई नासल चौकस्थित मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका थिए ।

मध्यराती उनी कहाँ हिडेको खुलेको छैन । दुर्घटनास्थलमा लडिरहेको भेटिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । तर, अस्पताल ल्याउँनासाथ डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल सडकको नालीमा पसेको छ । अनियन्त्रित भएर दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ । दुर्घटनाको यकिन कारणको बिषयमा थप अनुसन्धान भइरहेको धनकुटाका ट्राफिक प्रहरी हवल्दार दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!