- संगालोखबर सम्वाददाता

उदयपुर । उपचार गर्ने पैसा नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ शिखरपुर भित्तेका ३७ वर्षीय शिबराज बिकलाई परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक रोगले ग्रसित उनलाई परिवारले ७ वर्षदेखि खोरमा थुनेर राखेका हुन् ।

अश्लील शब्द बोल्ने र कपडासमेत फुकालेर हिँड्ने गरेपछि खोरमै राख्न बाध्य भएको परिवारका सदस्यले बताएका छन् । उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरुलाई लखेटी लखेटी कुटपिट गर्ने गरेकाले खोरमा थुन्नु परेको उनीहरुले बताए । उनलाई अभिभावकले खानेकुरा समेत खोरमा राखिदिने गरेका छन् ।

घरदेखि अलि पर बाँस घारीमा चारैतिर काठले बेरा बारेको माथि जस्ताले छाएको जमिनदेखि चार फिट लग्लो खोरमा फटाहा ओछयाएर बनाएको स्थानमा उनलाई थुनेर राखिएको छ । कमाएर ल्याउने छोरा नै मानसिक सन्तुलन गुमाएपछि अहिले परिवारमा बिहान बेलुकाको छान टाँर्न समेत समस्या रहेको उनकी आमा सुमित्रा बिकले बताईन् ।

कमाउन भनि २०६९ सालमा काठमाण्डौं गएका उनले कमाएर घरमा पैसा पठाइरहेका थिए । तर २०७२ को भूकम्पपछि उनी एकाएक हराए । खोजी गर्दै जाँदा उनी चितवनको नारायण नदी किनारामा मानसिक सन्तुलन गुमेको अबस्थामा भेटिए । त्यसपछि बिराटनगर सुधार केन्द्रमा लगि उपचार गरियो । तरपनि केही नलागेपछि पुन छरछिमेकी स्थानीयबासीको सहयोगमा चन्दा उठाएर पाटन मानसिक रोग अस्पताल पु¥याएको र त्यहाँ उपचार गरेपछि ठिक भएर आएको आमा सुमित्राले बताईन् । ‘उपचारपछि ठिक भएर आएको केही महिनासम्म राम्रो भएकोले शिबरामको नागरिकता बनाई दिएका थियौं । उनले मलाई पासपोर्ट बनाई दिनु म पैसा कमाउन बिदेश जान्छु भन्दै थियो तर एक्कासी पुन मानसिक सन्तुलन गुमाउन पुग्यो’ उनले भनिन् ।

त्यसपछि असामान्य व्यवहार देखाउन थाले । उपचार गर्दा ठिक हुन्छ तर उपचार गर्ने खर्च नभएर आजसम्म खोरमै राख्नु परेको सुमित्राले बताइन् । पाटन अस्पतालमा उपचारपछि ठिक भएको र नियमित औषधि खानु पर्ने भयो तर औषधि किन्ने पैसा नभएपछि ठिक हुन सकेन । त्यसपछि उनलाई खोर बनाएर राखिएको हो ।

चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्ते माडिबासस्थित जंगल फडानी गरेर बसेका उनको परिवार ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका छन् । खोरिया फाडेर बसेरका उनीहरुको ७ जनाको परिवार रहेको छ । जनता आबास कार्यक्रमबाट बनाई दिएको सानो घरमा बस्दै आएका उनीहरुको घर वरिपरि करिब ५ कठ्ठा ऐलानी जमिन बाहेक केही छैनन् । आफ्नै जग्गा जमिन नभएका बिक परिवारलाई मजदुरी गरेर खानु पर्ने बाध्यता छ । सम्पत्तिका नाममा एउटा घरमात्रै भएका बिक परिवारलाई हातमुख जोर्ने समस्या छ । सात जनाको बिक परिवारमा शिवराम जेठो सन्तान हुन् ।

आर्थिक अभाबका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको उनका भाई अर्जुन बिकले बताए । आर्थिक अवस्था कमजोर भएकाले पेटभरि खुवाउन समेत नसक्ने अवस्था रहेको उनले सुनाए । छोरालाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने गरेको आमा सुमित्रा बिकको भनाइ छ । ‘उपचारका लागि कसैले सहयोग गरिदिए भगवान सहर ठान्ने थियौं, घरको आर्थिक अवस्था कमजोर छ । अहिले छोरालाई फेर्ने कपडा पनि छैन । एउटै कपडामा महिनौ बिताउँछ’ सुमित्राले भनिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!