- रबिन कटेल/संगालोखबर

धनकुटा । स्थानीय तह निर्वाचनमा चार दलिय गठबन्धनसँग प्रतिष्पर्धा गर्दा पनि धनकुटामा एमाले नै पहिलो पार्टी बनेको छ । निर्वाचित जनप्रतिनिधि संख्या, कार्यपालिकाको बहुमत र जिल्ला समन्वय समिति गठनका हिसाबले फेरी पनि धनकुटामा एमाले नै पहिलो र शक्तिशाली पार्टीको रुपमा स्थापित भएको हो ।

Advertisement

गत स्थानीय तह निर्वाचनमा एमाले सबैभन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित थियो । सातै पालिका प्रमुख, उप-प्रमुखसहित ४३ वडा जित्न सफल भएको एमाले अहिले केही खच्किएको छ । तर अझै पनि एमाले नै जिल्लामा सबैभन्दा शक्तिशाली पार्टीको रुपमा कायम छ । यो चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । एमाले एक्लै चुनाव भिडेको थियो । तरपनि जिल्लामा निर्वाचित भएका मध्ये ५५ प्रतिशत जनप्रतिनिधि एमालेका छन् । बाँकी सबै दलका कुल जनप्रतिनिधि ४५ प्रतिशत मात्र छन् ।

एमालेले सातमध्ये तीन पालिका प्रमुख र छ उप-प्रमुख जितेको छ । ६० मध्ये ३१ वडाध्यक्ष जितेको छ । ४८ कार्यपालिका सदस्य मध्ये २८ जना र वडासदस्यसमेत कुल ३३० मध्ये १८० जनप्रतिनिधि निर्वाचित गर्न सफल भएको छ । सात पालिका मध्ये एमाले एक्लैले प्रमुख, उपप्रमुखसहित तीन पालिका जितेको छ । धनकुटा नगरपालिका, चौबिसे गाउँपालिका र सहिदभूमि गाउँपालिकामा एमालेकै प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् । बाँकी चार पालिकामा गठबन्धनका तर्फबाट कांग्रेसले प्रमुखमा जित हासिल गरेको छ । छथर जोरपाटीमा माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ । बाँकी छ वटै पालिकामा एमालेकै उप–प्रमुख छन् ।

एमालेद्वारा आयोजित पत्रकार सम्मेलन । तस्वीर:सन्तोष सुवेदी/संगालोखबर

गठबन्धनले चार पालिका प्रमुख जितेको भएपनि कार्यपालिकामा भने एमाले अगाडि देखिएको छ । सात मध्ये चार कार्यपालिकामा एमालेको एकल बहुमत पुगेको छ । पाख्रीवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका र चौविसे गाउँपालिकाको कार्यपालिकामा एमालेको बहुमत छ । पाख्रीवास र साँगुरीगढीको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेद्वार विजयी भएको भएपनि त्यहाँको कार्यपालिकामा भने गठबन्धन अल्पमतमा परेको छ । एमालेले जितेको धनकुटा नगरपालिकाको कार्यपालिकामा भने गठबन्धनको बहुमत पुगेको छ ।

यता, जिल्ला समन्वय समिति गठनका लागि पनि एमालेको एकल बहुमत छ । पालिकाका १४ प्रमुख÷उपप्रमुख मध्ये एमालेका नौ जना छन् । एकल बहुमत भएकाले एमालेले जिसस गठनको तयारी गरेको छ ।

गठबन्धनले कांग्रेसलाई फाइदा, बाँकी दल रुष्ट

स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा मात्र सीमित बनेको कांग्रेसले यसपटक गठबन्धनको बलमा चार पालिका प्रमुख जित्न सफल भयो । कांग्रेसले २६ वडा पनि जितेको छ ।

माओवादी केन्द्रले एउटा उपाध्यक्षसहित दुई वडाध्यक्ष जितेको छ । जसपाले एउटा वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादी सदस्यमा मात्र सीमित भएको छ । गठबन्धनको बलमा कांग्रेसले निकै फाइदा लिएको भएपनि अन्य दलका उम्मेदवारलाई कांग्रेसले धोका दिएको भन्दै नेताहरू असन्तुष्ट छन् ।

गठबन्धन गर्ने नाममा कांग्रेसले अन्य दललाई भर्याङको रुपमा मात्र प्रयोग गरेर धोका दिएको जनता समाजवादीका जिल्ला अध्यक्ष बलबहादुर राई बताउँछन् । गठबन्धन सम्बद्ध अन्य दलका नेताहरू पनि कांग्रेसप्रति असन्तुष्टि पोखिरहेका छन् ।

धनकुटामा एमाले शक्तिशाली छ: अध्यक्ष पराजुली

नेकपा एमालेका अध्यक्ष इन्द्रमणी पराजुलीले हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट पनि धनकुटामा एमाले नै पहिलो र शक्तिशाली पार्टीको रुपमा स्थापित भएको बताए ।

नेकपा एमालेले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पराजुलीले सबै दल एकातर्फ उभिदा पनि एमाले एक्लै चुनाव भिडेर ५५ प्रतिशत आफ्ना जनप्रतिनिधि निर्वाचित गर्न सफल भएको बताए । उनले एमालेलाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद पनि दिए ।

फरक प्रशंगमा उनले कार्यपालिका सदस्य निर्वाचनका लागि माओवादी केन्द्रसँग भएको लिखित सहमति विपरित माओवादी केन्द्रले अन्तर्घात गरेको आरोप लगाए । माओवादी केन्द्रले राजनीति बेइमानी गरेको भन्दै उनले भत्सना पनि गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!