- संगालोखबर सम्वाददाता
जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरु । तस्वीर:सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा पीडितले प्रहरीमा उजुरी दिएको तीन महिना वितिसक्दासम्म पनि बलात्कार आरोपित पक्राउ नपरेपछि आइतवार विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । बलात्कार आरोपितलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन र पीडितलाई न्याय दिलाउँन माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

धनकुटा नगर क्षेत्रकी एक वालिका २०७७ वैशाखमा बलात्कृत भएकी थिइन् । उनलाई धनकुटा नगरपालिका–६ का मिलन भनिने नीलबहादुर भुजेलले पटक–पटक बलात्कार गरेको आरोप छ । बलात्कृत वालिकाले रुने, चिच्याउँने जस्ता अस्वभाविक व्यवहार देखाउँन थालेपछि सोधपुछ गर्ने क्रममा डेढ बर्षपछि घटनाको रहस्य खुलेको हो । बलात्कार पीडित ती बालिका ‘डिप्रेशन’ मा छिन् । घटनाको रहस्य खुलेपछि गत फागुन महिनामा पीडित परिवार उजुरी गर्न प्रहरीमा पुग्यो । तर, बलात्कारको उजुरीको हदम्याद एक बर्षसम्म मात्रै हुने भन्दै प्रहरीले बलात्कारको उजुरी लिएन । अनि फागुन ६ गते ‘बाल यौन दुरुपयोग’ को उजुरी दर्ता गरियो ।

Advertisement

प्रहरीमा उजुरी दिएको तीन महिना वितिसक्यो । तरपनि अझै बलात्कार आरोपित भुलेज पक्राउ परेका छैनन् । प्रहरीले उनी फरार रहेको बताउँदै आएको छ । बलात्कार आरोपितलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको आरोप लगाउँदै विद्यार्थीहरुले दवाव स्वरुप विरोध प्रदर्शन गरेका हुन् । धनकुटाको टुडिखेलमा दर्जनौं विद्यार्थी भेला भएर प्लेकार्डसहित जिल्ला प्रहरी कार्यालय अगाडि आएर धर्ना दिए । बलात्कार विरोधी र प्रहरी प्रशासनलाई खबरदारी स्वरुप बनाइएका प्लेकार्ड बोकेर उनीहरुले प्रहरी कार्यालय अगाडि आएर प्रदर्शन गरे ।

बलात्कार आरोपित भुजेललाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँनुपर्ने उनीहरुको माग छ । यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले आरोपित व्यक्तिलाई पक्राउ गर्न प्रहरीले वेवास्ता नगरेको दावी गर्दै उनको खोजी भइरहेको बताएका छन् ।

‘पीडितको गोपनीयता ख्याल गरौ’

पीडकलाई कारबाहीको दायरमा ल्याउँन माग गर्ने क्रममा कतिपय व्यक्तिको असावधानीका कारण पीडितको परिचय खुलाउँने काम भएको भन्दै प्रहरीले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमा पीडित व्यक्तिको नाम र तस्वीरसहित पोष्ट भएको पाइएको भन्दै प्रहरीले त्यसो गर्नेहरुलाई कारबाही हुँनसक्ने चेतावनी पनि दिएको छ ।

‘बलात्कारजन्य घटनामा पीडितको परिचय खुलाउँन हुँदैन, उसको परिचय गोप्य राख्नुपर्छ,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘पीडितको नाम फोटोसहित कतिपय व्यक्तिले फेसवुक तिर पोष्ट गरेको भन्ने कुरा आएको छ, उनीहरुलाई कारबाही हुँनसक्छ ।’

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!