- संगालोखबर सम्वाददाता

धनकुटा । प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामले प्रदेश १ को राजधानी धनकुटा नबन्दा आफु दुखित भएको बताएका छन् । नेपाली कांग्रेसले शुक्रबार धनकुटामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री हाङगामले यस्तो बताएका हुन् ।

प्रादेशिक राजधानी टुंगो लगाउँने बेला आफु एक्लैले धनकुटाको पक्षमा आवाज उठाएको भएपनि सुनुवाई हुन नसकेको प्रति उनले दुःख व्यक्त गरे । पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम, प्रदेश १ का सबै जिल्लाको केन्द्र भागमा पर्ने, हावापानी लगायत हरेक हिसावले उपयुक्त भएकाले आफुले धनकुटाको पक्षमा बोलेको भएपनि सुनुवाई नभएको उनले बताए । ‘हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त ठाउँ हो, त्यसैले मैले धनकुटाको पक्षमा बोलेको थिए,’ मन्त्री हाङगामले भने, ‘विराटनगरलाई प्रादेशिक राजधानी बनाउँने प्रस्तावको विपक्षमा बोल्ने म एक्लै भएछु, धनकुटाको पक्षमा बोल्ने अरु भएनन, बहुमतले जित्यो ।’

अहिले विराटनगर राजधानी हुँदा पहाडी जिल्लालाई असहज भएको उनले बताए । सोलुखुम्बु, ताप्लेजुङ्ग लगायत पहाडी जिल्लाका मान्छेलाई विराटनगर झर्न समस्या भएको उनको भनाई छ । ‘धनकुटा राजधानी भएको भए राम्रो हुन्थ्यो, अहिले विराटनगर हुँदा पहाडी जिल्लालाई समस्या भएको छ, विराटनगरको गर्मीमा बस्न सकिदैन,’ उनले भने ।

ताप्लेजुङ्ग घर भएका मन्त्री हाङगामले प्रदेश १ को राजधानी टुंगो लगाउँने बेला धनकुटाको पक्षमा बोलेका थिए । प्रदेश सभामा विराटनगरलाई प्रादेशिक राजधानी बनाउँने प्रस्तावको विपक्षमा आवाज उठाउँने उनी मात्र एक्लो सांसद थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!