- संगालोखबर सम्वाददाता

धनकुटा । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा बुधबार धनकुटामा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाएका छन् ।

सिरवानीस्थित एमाले पार्टी कार्यालयबाट दिउँसो सुरु भएको विरोध जुलुशले बजारका बिभिन्न भागको परिक्रममा गर्यो । ‘मूल्यबृद्धि फिर्ता गर, जनतामारा सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै व्यानर, प्लेकार्ड र झण्डा बोकेर युवा तथा विद्यार्थीहरुले बजार परिक्रमा गरेका हुन् ।

बजार परिक्रमा गर्दै जुलुश जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई मूल्यबृद्धि फिर्ता मागसहितको ज्ञापनपत्र पठाइएको हो ।

राष्ट्रिय युवा संघका अध्यक्ष प्रविण पोख्रेल, सचिव कमल कार्की, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य अंकित थापा, जिल्ला अध्यक्ष बसन्त राई, विद्यार्थी नेता प्रकाश गिरी लगायतले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा ज्ञापनपत्र हस्तान्तरण गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी कटेलले ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइदिने प्रतिवद्धना जनाएका छन् । मूल्यबृद्धि तत्काल फिर्ता लिइनुपर्ने उनीहरुको माग छ । माग पुरा नभए आन्दोलन थप चर्काउँने उनीहरुले चेतावनी पनि दिएका छन् ।

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यबृद्धि गर्दै आएको छ । निगमले पछिल्लो पटक गत आइतवार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैया र खाना पकाउँने ग्यासमा प्रति सिलिण्डर २ सय रुपैयाँले मूल्य बढाएको छ । योसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १८० पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६३ पुगेको छ । खाना पकाउँने ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय कायम भएको छ । पटक–पटक मूल्यबृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

यस्तो छ प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्र

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!